टिप्पर दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारको ५–५ लाख सहयोग

 असार २५, २०७५ सोमबार १४:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  सरकारले मुस्ताङको स्याङबोचेमा भएको टिप्पर दुर्घटनाका मृतकका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । 

गृहमन्त्री रामबहादुर थापाले टिप्पर दुर्घटनामा परि मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनु भएको छ । 

गएको शुक्रबार दिउँसो मुस्ताङको स्याङबोचेमा टिप्पर दुर्घटनामा परि कालीगण्डकी करिडोर निर्माणमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो । त्यसै घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गर्नु भयो । उहाँले दुर्घटनामा परि घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको र उनीहरु खतरामुक्त रहेको पनि जानकारी दिनुभयो ।

दुर्घटनामा परि चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो । 

त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाइतेहरु रहेको पनि जानकारी दिनुभयो । सरकारले मृतकहरुको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ । गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरुको शव परिवारलई बुझाउने व्यवस्था गरिएको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया