आफ्नै मान्छेले नि ठग्छन् भन्ने के थाहा भयो र !

 साउन १०, २०७६ शुक्रबार १८:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेरो नाम बर्मदेव यादव । उमेर २५ वर्ष भयो । घर वीरगन्जमा  हो । 

म गाउँघरतिरै मजदुरी गर्थें। अब अलि धेरै कमाउनुपर्यो भन्ने लाग्यो । साथीहरुले विदेश गएर राम्रो कमाइ गरिरहेको पनि देखेँ । मलाई नि एकपटक त विदेश पुग्नैपर्छ भन्ने लाग्यो ।

जान त जाने, तर कसरी ? मलाई केही पनि थाहा थिएन । गाउँकै मामा नाता पर्ने एकजना हुनुहुन्थ्यो, तुलसी महतो । उहाँले नै मलाई विदेश जाने भए म पठाइदिन्छु भन्नुभयो ।

आफू त साधारण मान्छे । आफ्नै मामाले पठाइदिने भएपछि म ढुक्क भएँ । जे मामाले भन्नुभयो त्यही मान्दै गएँ । ओमान पठाइदिने कुरा गर्नुभयो । राम्रो छ, ओभर टाइम पनि गर्न मिल्छ भन्नुभएको थियो । म त मख्ख परेको थिएँ नि ।

जेठ महिनामा ‘ओमानको लागि भिसा लगाउनुपर्ने भयो भाञ्जा अहिलेलाई ८५ हजार चाहियो’ भन्नुभयो । 

मलाई उहाँप्रति विश्वास थियो । उहाँले त मलाई यसरी फकाउनुभएको थियो कि, म त धेरै पैसा कमाउन थालेको सपना देख्न लागिसकेको थिएँ ।
मसँग त्यत्रो पैसा त थिएन तर ऋण निकालेर भए पनि दिएँ ।

यही असार १२ गतेभित्र ओमान  पठाउँछु भनेर पैसा लगेको थियो । तर के पठाउनु, उ त ठग रहेछ भन्ने बल्ल थाहा पाएँ । मजस्तै धेरै साथीहरुलाई पनि ठगेको रहेछ ।

अहिले ऊ आफै जेलमा परेको छ, ठगीको मुद्दामा । मजस्तै विदेश पठाइदिन्छु भनेर पहिले पनि धेरैलाई ठगेको रहेछ । सबैले उजुरी गरेपछि प्रहरीले पक्रेर जेल चलान गरेछ ।

अब विदेश त कसरी जाने र ? उसलाई दिएको पैसा पनि फिर्ता पायो भने हुन्थ्यो । त्यही भएर क्षतिपूर्ति भराइपाउँ भनेर वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएको हुँ ।

अब त फर्केर घर जान पनि लाज लाग्छ । साहुले पनि पैसा मागिरहेको छ । विदेश गएर तिर्छु भनेको थिएँ । अब कहाँबाट दिने त्यत्रो पैसा ?

आफूसँग सीप भनेको प्रेसर कुकर बनाउने, साइकल बनाउने र त्यही मजदुरीको सीप हो । त्यो काम गरेर त्यत्रो ऋण तिर्न त कति वर्ष लाग्छ कति । आफैले विश्वास गरेको मान्छे नै एजेण्ट रहेछ । मलाई त एजेण्ट भन्ने नि थाहा थिएन ।

अहिले बल्ल बुझ्दैछु । उनीहरु  त ठग हुँदा रहेछन् । आफ्नै मान्छेले नि ठग्छन् भन्ने मलाई के थाहा  !

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया