नेकपाको स्कुलमा हेडसर हुने हानथाप : मौरी, अरिंगाल र भाले बन्ने अवसर !

 साउन ११, २०७६ शनिबार ८:५६:२० | मिलन तिमिल्सिना
unn.prixa.net

तपाईँलाई अरिंगाल र मौरी बन्ने रहर छ कि भाले बन्न मन छ ? अथवा अरुलाई मुर्गा बनाउने कला सिक्न मन छ कि ? यी सबैभन्दा भिन्न कला जानेर कसैलाई चतुर्‍याइँपूर्वक धोबीपछाड धक्का दिन पो मन छ कि !

तपाईँ नेकपा कार्यकर्ता हुनुहुन्छ वा नेकपा पस्ने सोचाइमा हुनुहुन्छ भने अवसरहरु एसईई सकेर बसेका विद्यार्थीका लागि भन्दा धेरै खुल्ने संकेत छन् । नेकपा स्कुलमा हेडसर को हुने प्रश्न एकाएक जटील भएको कारण नै भविष्यमा खुल्न थालेका अवसरहरुको घना संकेत हो । सरकार बनाउन र चलाउन चाहिने सम्पूर्ण कला सिकाउने नेकपा स्कुलमा भर्ना हुने विद्यार्थीको लर्को सानो छैन ।

नेकपा स्कुल एक समय अति व्यस्त थियो । त्यो समयका हेडसर के.पी. शर्मा ओली देशको प्रधानमन्त्री भएपछि हेडसर पछि प्रधानमन्त्री हुन पाइन्छ भन्ने नजीर बसेको छ । त्यसैले अहिले नेकपा स्कुलको हेडसर हुन ८ कक्षा फेल भएकाहरु पनि तम्सिएका छन् । पहिले हेडसर भएकाहरु पनि मुख मिठ्याउँदैछन् । हुँदाहुँदा घनश्याम जस्ता मार्क्सवादी दर्शनका व्याख्याता र बेदुराम जस्ता जबजमै पीएचडी गरेका ज्ञाता विद्वानलाई पनि नेकपा स्कुलकै प्रमुख बन्ने रहर छ । 

छँदाखाँदाका अरु ठाउँ छोडेर सबैले स्कुल नै ताकेपछि नेकपा स्कुलमा को हेडसर भयो भने के पढाई हुन्छ र कस्को पढाई कति प्रभावकारी हुन्छ भन्ने लेखाजोखा पनि सुरु भएको छ । नेकपा स्कुलमा कस्ले कस्तो पढाउला त ? अथवा नेकपा स्कुलमा पढ्नेहरुले भविष्यमा के  शिक्षा पाउलान त ? विगतको अनुभवका आधारमा एकपटक सरसरती लेखाजोखा गरौं ।

१. ओली स्कुल

यो ठ्याक्कै सरकारी स्कुलजस्तो हुन्छ । सरले घोकाउने, विद्यार्थीले सुन्ने । कक्षामा सरले धेरै फलाक्छन् । तर जाँचमा नतिजा राम्रो आउँदैन । सरको सबै कुरा हो हो जस्तो लाग्छ । अहिले नै केही भैहाल्छ कि भन्ने हुन्छ । तर हुने बेलामा केही हुँदैन । 

यो स्कुल पढ्दा कक्षामै सपना देख्न पाइन्छ । सपना देख्न निदाउनै पर्छ भन्ने पनि छैन । बिउँझिएरै सपना देख्न मिल्छ । सडकमा खाल्डाखुल्डी हटेको सपना, रेल र पानीजहाज चलेको सपना । जिन्दगी त्यसै त्यसै सुखी भएको सपना । देशमा समृद्धि नै समृद्धि छाएको सपना । थरिथरिका सपना देख्न पाइन्छ । तर देखेको सपना कहिले पूरा हुन्छ भन्ने चाहिँ सपना देख्नेलाई नै पत्तो हुँदैन ।

यो स्कुल बहुमुखी हुन्छ । यो स्कुल पढ्ने विद्यार्थी कलाकार या साहित्यकार पनि बन्न सक्छन् । कक्षामा मज्जाले हाँस्न र अरुलाई हँसाउन सिक्न पाइन्छ । अरुलाई घोचपेच र व्यङ्ग्य गर्ने कला थाहा हुन्छ । नेपाली उखान टुक्कामा ज्ञान बढ्छ । अनि सरले घरि मौरी र घरि अरिंगाल बन्ने कला पनि सिकाउँछन् । एकपल्ट मौरी बन भन्छन्, उतिखेरै अरिंगाल बन्नु भन्छन् । रमाइलो पनि गर्छन्, हैरान पनि बनाउँछन् ।

नेकपा स्कुलको हेडसर भएर पढाएको र सिकाएको आधारमा हेर्दा ओली स्कुलमा दीक्षित कार्यकर्ताले ढुंगा, वालुवा लगायतका ठेक्कापट्टा कसरी हडप्ने, पैसा र सम्पति पचाउने पेटको दाँते कसरी बलियो बनाउने, स्वतन्त्र कुरा गर्ने बुध्दिजीवी र पत्रकारका नाक कसरी बिगार्ने जस्ता शिक्षामा अकल्पनीय प्रगति गर्छन् र चाणक्य नीतिको सूत्र पालन गरी नेतालाई चाँडै समृद्ध र पार्टीलाई अझै छिटो सत्तामा पुर्‍याउँछन् ।   

२. दाहाल स्कुल

यो अर्धसरकारी स्कुल हो । सरकारीमा मर्ज हुन पालो पर्खेको स्कुल भएकाले कहिले निजीमा जस्तो पढाइ हुन्छ, कहिले सरकारीमा जस्तो । बकुलाले माछा ढुके झैँ मौका ढुक्ने र समय र सम्भावना अनुसार आफूलाई बदल्न सक्नुपर्छ भन्ने यो स्कुलको मुख्य शिक्षा हो ।

साँच्चै नै शक्तिशाली हुँदा अरु कसैलाई गन्दै नगन्ने, आफू कमजोर हुनेबित्तिकै अरुको काँधमा बन्दुक राखेर पड्काई अरुकै बदनाम गर्ने, आफू निरीह हुँदा दयालु देखिने, बिरालो जस्तो कमजोर हुँदा बाघ जस्तो बलियो देखाउन सक्ने अद्भूत शिक्षा यो स्कुलबाट लिन पाइन्छ ।

यो स्कुलमा सरले भाले बन्ने कला सिकाउन सक्छन् । एकपटक स्कुलका हेडसरले टेप प्रकरण देखाएका थिए । जुन टेपमा माओवादी कसरी भाले हुन सक्छ भनेर प्रशिक्षण दिएका थिए । अब चाहिँ सरले नेकपाभित्र मिसिएको माओवादीलाई कसरी भाले बनाउने भनेर सिकाउन सक्छन् । 

पहिलेका कुलपति, सेनापति या पशुपति काण्ड बिउँताउने कला पनि पढाउन सक्छन् । आलोपालो प्रणालीलाई जरैदेखि बलियो बनाउने अद्भूत कला र ज्ञान पनि छाँट्छन् । टेक्ने हाँगो र समाउने लौरो लुलो भए पनि आफू कसरी शक्तिशाली बनिरहन सकिन्छ भन्ने ज्ञान यो स्कुलबाट लिन पाइन्छ ।

३. गौतम स्कुल

यो स्कुल झण्डैझण्डै सीटीईभीटी शैलीको हुन्छ । स्कुलका हेडसर निकै महत्वाकांक्षी स्वभावका छन् । सर कृषि र चतुर्‍याइँ शिक्षामा बढी रुची राख्छन् । अरुबेला खेततिर नहेरे पनि असार १५ मा पाइन्टलाई घुडामाथि सार्दै हिलो खेतमा पसेर रोपाईं गर्छन् । डोरी नाघ्ने कलामा पनि उनको रुची धेरै छ । त्यसैले विद्यार्थीलाई वर्षमा एकपटक खेतमा पस्न र सडकमा राखिएका डोरी नाघ्न प्रेरणा दिन्छन् ।

अरुलाई कसरी मुर्गा बनाउने भन्ने सिकाइ पनि यो स्कुलबाट लिन सकिन्छ । आफू चुनावमा हारे पनि सांसद कसरी बन्न सकिन्छ भन्ने ट्याक्टिस यो स्कुलबाट सिक्न पाइन्छ । भैरहेका सांसदलाई मुर्गा बनाएर आफू उसको ठाउँमा कसरी पुग्नुपर्छ भन्ने प्रेरणा सरले बुझ्ने गरी सिकाउँछन् ।

तर केही जोर नचलेपछि मच्चियो मच्चियो थच्चियो शैलीमा बस्नुपर्छ भन्ने कलामा पनि सरको राम्रो अनुभव छ । यो स्कुलमा पढेपछि आफूमा हिङ नभए पनि हिङ भएको टालो छु भन्ने आत्मसन्तुष्टि मिल्छ ।

४. भुसाल स्कुल

यो स्कुलमा दुई भुसाल छन् । एक नम्बरमा घनश्याम भुसाल, अर्को नम्बरमा बेदुराम भुसाल । दुवैले व्यवहारिकभन्दा सैद्धान्तिक पक्ष पढाउने स्कुल हो । पढाउने दुवै सर विद्वान छन् ।

घनश्यामको दख्खल मार्क्सवादमा छ भने बेदुरामले जनताको बहुदलीय जनवादमा पीएचडी नै गरेका छन् । दुवैलाई नेपालमा चलेका सबैखाले वादको राम्रो ज्ञान छ । तर उनको कुरा सुन्ने चाहिँ कोही छैन । उनी दर्शनलाई जोड दिन्छन् । यी दुईभन्दा अघिकाले पढाइमा मौरी, अरिंगाल र भाले बन्ने शिक्षा दिने भएकाले विद्यार्थीले यी दुईमा त्यो पाउँदैनन् । दर्शनभन्दा अरिंगाल र भाले बन्न खोज्ने विद्यार्थीको संख्या बढी हुने भएकाले यो स्कुलमा विद्यार्थीको खासै रुची नहुन सक्छ ।

पढाउने सर मात्रै विद्धान हुने, विद्यार्थी चाहिँ अरिंगाल र मौरी पाराको हुने भएकाले यो स्कुलको पढाई पहिले पहिलेको नैतिक शिक्षाको पढाईभन्दा खासै फरक देखिंदैन । त्यसमाथि यी दुई बिद्वानले स्कुलमा हेडसर हुने मौका पाउने संभावना अति कम छ । पाई हाले पनि स्कुलका संस्थापक हेडसर मोदनाथ प्रश्रित बानप्रस्स्थ लागे झै यी दुबैले अप्रत्यासित रुपले हेडसरको पद त्यागेर हिड्न बाध्य हुनुपर्ने छ । 

५. पोख्रेल, श्रेष्ठ, खनाल र अरु 

यो स्कुल त्यति नाम नचलेको, तर अरुले बोर्डिङ खोलेर कमाएको देखेर खोल्न खोजिएका स्कुल जस्तै हुन् । न स्कुल सञ्चालकसँग ट्याक्टिस सिकाउने अनुभव छ, न विद्यार्थी तह लगाउने अभ्यास । रहर धेरै भएको, तर लगानीको भर नभएको यी स्कुलमा विद्यार्थीको खासै आकर्षण नदेखिए पनि स्कुल सञ्चालकलाई चाहिँ के के न गर्न सक्छु भन्ने भ्रम छ ।

अझै खोतल्दै जाने हो भने हरेक स्कुलका थरिथरीका विशेषता छन् । मोदनाथ प्रश्रित यो स्कुलका पहिलो हेडसर थिए । पढाउँदा पढाउँदै जोगी हुनुपर्ने अवस्था आइलाग्यो । माधव नेपालले पनि यो स्कुलमा हेडसर भए । नेपालले यति धेरै पढाए कि नेकपा एमाले चुनावमा पाहा झै पछारियो ।

त्यसपछि नेपालले महासचिव र हेडसरको पद त्यागेर लामो समय बैरागी जीवन बिताए । ओली हेडसर हुँदा विद्यार्थीको ज्ञान तिखारियो । ओलीका चेलाको बुद्धि यतिबिघ्न बढ्यो कि देशका कुना कुनामा दाहाल स्कुलका विद्यार्थीले कब्जा गरेको खोलाका गिट्टी, बालुवा, उद्योग, जग्गा जमिन क्रमश: ओली स्कुल पढेकाहरुको हातमा आयो ।

जग्गा, जमlन र श्री सम्पति ओली स्कुलमा पुगेपछि दाहाल पनि लुरुलुरु त्यही स्कुलमा पसेर अहिले हेडसर हुने कसरतमा छन् । स्कुलको हेडसर भएपछि प्रधानमन्त्री हुन पाइने कडा विश्वासले उनी यता आएका हुन् । 

प्रश्रित, नेपाल र गौतमले कही नपुर्‍याएको नेकपा स्कुल अहिलेलाई ओलीलाई नै हेडसर मानेर अघि बढिरहेको छ । ओली नहुँदा र उनले नभ्याउँदा मात्र दाहाल यो स्कुलका निमित्त हेडसर हुन्छन् । 

नेकपा स्कुलका विशेषता र आकर्षण त धेरै छन् । तर मुख्य मुख्य विशेषता मात्रै थाहा पाउनुभयो भने पनि कुन स्कुल छनोट गर्ने भन्ने अलमल बाँकी रहने छैन भनेर यो अनुभव लेखिएको हो ।

कार्यकर्तालाई अलमलमा पार्न सक्नु नेकपा स्कुलको असली खुबी हो । हेडसर जो भए पनि अबको नेकपा स्कुलमा पढ्ने विद्यार्थीले सिक्ने मुख्य ज्ञान अरुलाई कसरी अलमल्याउने र आफूले कसरी कमाउने भनेर नै हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया