वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट

 साउन १२, २०७६ आइतबार १०:१:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा शनिबार राति नचिनेकाे मानिसको समूहले आगजनी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारीअनुसार नचिनेकाे मानिसको समूहले राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । आगजनी किन, कस्ले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्‍यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताउनुभयो । विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ । 

आगजनीपछि यो क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा नचिनेका मानिसको समूहद्वारा यो वडा कार्यालयसहित यसअघि बडीकेदार, जोरायल गरी तीन पालिकाका वडा कार्यालयमा आगजनी भएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया