भीसीटीएसमा उत्साह: २० हजार व्यवसायीले लिए सेवा,  ५५ हजार दर्ता

 साउन १२, २०७६ आइतबार १३:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालभित्र ढुवानी हुने मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) प्रभावकारी बन्दै गएको छ ।

केही उद्योगी व्यापारीले यसको विरोध गरे पनि अहिलेसम्म झण्डै २० हजार उद्योगी व्यवसायी तथा गाडीले भीसीटीएस प्रयोग गरेर मालवस्तु ढुवानी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

साउन १ गतेदेखि लागू भएको यो प्रणालीमा आइतबार बिहानसम्म झण्डै २० हजार उद्योगी व्यापारीले सेवा लिइसकेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालो अनलाइनलाई दिएको जानकारी अनुसार ६ हजार ७ सय ५९ व्यापारी, ६ हजार १ सय  ६८ उद्योगी र ३ हजार १ सय ७० आयातकर्ताले भीसीटीएस प्रयोगको लागि युजर आइडी र पासवर्ड लिएका छन् । 

यस्तै १४ सय ५४ होलसेलर, ७ सय ६३ ट्रान्सपोर्ट, ६ सय ५ भन्सार एजेण्ट र अरु ५ सयले पनि भीसीटीएस प्रयोगको लागि युजर आइडी र पासवर्ड लिएका छन् । युजर नेम र पासवर्ड लिएका धेरैजसोले ढुवानी सुरु गरेको पनि महानिर्देशक मैनालीले जानकारी दिनुभयो । 

आइतबार मात्रै मध्यान्ह १२ बजेसम्म १ हजार ९ सय १२ जनाले भीसीटीएसको लागि युजर नेम र पासवर्ड लिएका छन् । 

‘यो प्रणाली प्रयोग गर्ने उद्योगी ब्यापारी र एजेण्टहरु निकै खुसी हुनुहुन्छ र सजिलो भएको बताउनुभएको छ, बिस्तारै सबैले बुझ्दै जाँदा हामीलाई पनि सजिलो भएको छ’ राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले भन्नुभयो, ‘हामीले अहिले धेरैलाई जानकारी पनि गराइरहेका छौं, सुधारको यो अभियानमा धेरैको साथ मिलेको र अझै पनि यो आवश्यक छ ।’

भीसीटीएस लागू गर्न गाह्रो भएको भन्दै केही उद्योगी व्यापारीले विरोध गरिरहेका छन् । कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य, ढुवानी व्यवसायी पनि भ्याटमा दर्ता हुनुपर्ने र भीसीटीएस एकैपटक लागू गर्दा अप्ठ्यारो भएको उद्योगी व्यवसायीको गुनासो छ । यसको लागि अर्थ मन्त्रालयले एउटा समिति बनाएर उद्योगी व्यापारीसँग छलफल भैरहेको छ ।  तर भीसीटीएस प्रभावकारी बन्दै गएपछि उनीहरुको विरोध ओझेलमा परेको छ । 

मालवस्तु ढुवानी गर्दा, मालवस्तुको विवरण, कुन ठाउँबाट कुन ठाउँमा लैजाने भन्ने जानकारी, गाडी नम्बर र चालकको नम्बर राजश्व अनुसन्धान विभागको वेबसाइटमा अपलोड गर्ने प्रणाली नै भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया