नेपाल एअरलाइन्स भन्छ: जापानको टिकटदर ८० हजार रुपैयाँ नै हो, तर यात्रु पाउनै मुश्किल

 साउन १२, २०७६ आइतबार १५:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल एअरलाइन्सले जापानको ओसाका उडानका लागि दुईतर्फी टिकटदर ८० हजार रुपैयाँ मात्रै भएको जनाएको छ ।

केही ट्राभल कम्पनीले वेबसाइटमा टिकटदर ९५ हजार रुपैयाँसम्म राखेको गुनासो आएपछि नेपाल एअरलाइन्सले ओसाका उडानको दुईतर्फीे टिकटदर जम्मा ८० हजार रुपैयाँ मात्रै रहेको स्पष्ट पारेको हाे । 

तर नेपाल एअरलाइन्सले यो दर सेप्टेम्बरसम्म मात्र लागु हुने जनाएको छ । निगमले अगष्ट २९ अर्थात भदौ १२ गतेदेखि काठमाण्डौं–जापान सिधा उडान गर्दैछ । जापान उडानको प्रवर्द्धन गर्न एअरलाइन्सले सेप्टेम्बरसम्म दुईतर्फी टिकटदर ८० हजार रुपैयाँ मात्रै राखेको छ । 

‘केही ट्राभल एजेन्सीले वेबसाइटमा नेपाल एअरलाइन्सको जापान फेयर ९५ हजार रुपैयाँसम्म राखेको हामीले पनि सुनेका छौँ, तर सेप्टेम्बरसम्म हामीले ८० हजार रुपैयाँ मात्रै राखेका छौंँ’ एअरलाइन्सका प्रवक्ता गणेश चन्दले भन्नुभयो, ‘हामीले तोकेको टिकटदरमै टिकट पाइन्छ, धेरै पैसा तिर्नुपर्दैन ।’

टिकट काट्नेभन्दा बुझ्ने धेरै आए

नेपाल एअरलाइन्सले गएको असार १९ गतेदेखि जापानको ओसाकामा हप्ताको २ वटा उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । यो पटक पनि उत्साहजनक रुपमा टिकट बिक्री भएका छैनन् । 

‘अहिले टिकट काट्नेभन्दा पनि बुझ्ने धेरै आएका छन्, एक महिना छ, टिकट काट्ने पनि आउलान् भन्ने अपेक्षा छ ।’ प्रवक्ता चन्दले भन्नुभयो । 

निगमले ओसाका उडान नेपाली यात्रुका लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।

निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • sameer

    July 28, 2019, 4:26 p.m.

    ओसाका भनेको जापानको प्रमुख गन्तब्य या ट्रान्जिट हब होइन, नारिता टोक्यो उडान शुरु गरे अवश्य यात्रु पाइन्छ /कसको सल्लाह या प्रभावले गन्तब्य रोजेको हो ? बुझ्न सकिएन /

  •  0 Reply

तपाईको प्रतिक्रिया