नेपाल एअरलाइन्सले जापानको भाडा घटायो, एकतर्फी भाडा ३७ हजार

 साउन १३, २०७६ सोमबार १६:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो भदौको १२ गतेदेखि जापानको ओसाका उडान गर्ने तयारी गरेको नेपाल एअरलाइन्सले भाडा घटाएको छ ।

यसअघि दुईतर्फी टिकटको ८० हजार रुपैयाँ भाडा तोकिएकोमा घटाएर दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँमा झारिएको छ । यस्तै एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

सुरुमा जापान उडानलाई प्रवद्धनात्मक बनाउन यो भाडादर निर्धारण भए पनि सेप्टेम्बरपछि भने नयाँ भाडादर लागु हुने एअरलाइन्सले जनाएको छ । निगमले एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमार्फत जापान उडान गर्दैछ ।

नेपाल एअरलाइन्सले गएको असार १९ गतेदेखि जापानको ओसाकामा हप्ताको २ वटा उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । तर यो पटक पनि उत्साहजनक रुपमा टिकट बिक्री भएका छैनन् ।

निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।

निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया