बालिका बलात्कारकाे आराेपमा ६९ वर्षीय वडा सदस्य पक्राउ

 साउन १५, २०७६ बुधबार १२:३५:५७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् । 

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुली बलात्कारको आरोपमा पक्राउ परेका हुन् । बलात्कृत भएको घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा उनलाई एक हप्तापछि पक्राउ  गरिएको हो ।

गएको साउन ६ गते साँझको समयमा ९ वर्षीया बालिका पराजुलीबाट बलात्कृत भएकी थिइन् । बालिका बलात्कारको घटना गाउँमा नै मिलाउने प्रयास भैरहेको थाहा भएपछि स्थानीयले प्रहरीसमक्ष न्याय दिलाउन माग गरेका थिए ।

आरोपित पराजुलीलाई प्रहरीले मंगलबार उनकै घरबाट नियन्त्रणमा लिएर त्यसै दिन यौन दुर्व्यवहार अन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

एक लाख रुपैँया दिने शर्तमा मिलापत्र

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले अनुसन्धान जारी रहेको र यसअघि घटना गाउँमा नै मिलाइएको भन्ने बारेमा सोधपुछ भैरहेको बताउनुभयो ।

प्रहरीका अनुसार आरोपित पराजुलीले आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर १० रुपैँयामा ललाइफकाइ गरी बलात्कार गरेको पाइएको छ ।

पीडित बालिकाका आफन्तले बलात्कारको घटना थाहा पाएपछि आरोपितले सुरुमा १० हजार रुपैँया दिने र घटनालाई बाहिर नल्याउने शर्त राखेका थिए । 

तर फेरि पीडित पक्षको तर्फबाट केही व्यक्तिहरुले एक लाख रुपैँयाको माग गरेपछि रकम दिने सहमति भएको थियो । रकम दिने सहमति भए पनि पीडित पक्षले नपाइसकेको र साउन १६ गते मात्रै दिने सहमति भएको प्रहरीले जनाएको छ । 

बालिकाको एक सातापछि स्वास्थ्य परीक्षण

बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपित पक्षका आफन्तहरुले बालिकालाई बाग्लुङ अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

बालिका बलात्कारजस्तो जघन्य अपराध गाउँमा नै कानुन विपरीत मिलापत्र भएको जानकारी भएपछि आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया