विकासकाे राम्रो पाठ सिक्न इलामको सूर्योदय पुग्नुपर्छ : नेता खनाल

 साउन १५, २०७६ बुधबार २०:३०:५८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राम्रो पाठ सिक्न नेपालकै उत्कृष्ट नगर इलामको सूर्योदय नगरपालिका पुग्नु पर्ने बताउनु भएको छ ।

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले सूर्योदय नगरपालिकाले उदाहरणीय काम गरेको बताउनुभयो ।

विकास र प्रगतिमा अग्रस्थान लिने पालिकामध्ये सुर्योदय नगरपालिका एक हो । ‘देश अहिले विकासको चरणमा छ । काम गर्दा समयको महत्व नबुझे देश फेरि पछि पर्छ । विकास र प्रगतिका उदाहरणका लागि यस नगरपालिकालाई हेरेर सबैले पाठ सिक्नु पर्छ’, उहाँले भन्नुभयो ।

संविधान बनेपछि नेपालमा अधिनायकवाद समाप्त भएको भन्दै नेता खनालले नागरिक अधिकारसम्पन्न भएको बताउनुभभयो । जुन तहमा विकास हुँदैन त्यस तहका स्थानीय नागरिकले गलत कार्य हुन नदिन आफ्नो अधिकारको सदुपयोग गर्न जरुरी रहेको उल्लेखसमेत गर्नुभयो ।

प्रदेश १ को पर्यटकीय नगरी घोषित सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रमको अवसरमा नगरपालिकाले नगरमा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने वरिष्ठ पत्रकार दुर्गानाथ शर्मासहित एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान समेत गरेको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया