कतार भिसा सेन्टर : साढे चार हजारले लिए सेवा

 साउन १६, २०७६ बिहिबार १०:५०:३५ | सन्जिता देवकोटा

काठमाण्डौ – जुन १८ अर्थात गएको असार ३ गतेदेखि नेपालमा कतार भिसा सेन्टरबाट काम सुरु भएको छ । अहिलेसम्म झण्डै साढे चार हजार जनाले सेवा लिएको सेन्टरका प्रवन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । 

अहिले सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारहरुको मात्रै बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम गरिरहेको छ । 

काम गर्न कतार जाने कामदारको बायोमेट्रिक र स्वास्थ्य परीक्षणका लागि यो केन्द स्थापना भएको हो । यसअघि कतार पुगिसकेपछि गरिने बायोमेट्रिक र स्वास्थ्य परीक्षण अब भिसा सेन्टरमार्फत हुनेछ ।  

कामदारले कतार भिसा सेन्टरमार्फत नेपालमै बायोमेट्रिक र स्वास्थ्य परीक्षण गरेर जाने भएकाले यो प्रक्रिया कतारमा पुगेपछि गर्न पर्दैन । सेन्टरबाट एक घण्टा १५ मिनेट भित्र मेडिकल र बायोमेट्रिकको काम सकिने पनि क्षेत्रीले जानकारी दिनुभयो । अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउनेछन् । 

कतार भिसा सेन्टरबारे जान्नैपर्ने कुरा

कतार भिसा सेन्टरमार्फत विशेषगरी तीन वटा काम हुन्छन् । 

१. कतार भिसा सेन्टरमार्फत कतारमा हुने स्वास्थ्य परीक्षण, बोयोमेटिक र करार सम्झौता प्रमाणीकरणको काम हुन्छ । स्वास्थ्य जाँचमा आँखा, स्वास्थ्य अवस्था, उचाइ, मोटाई र रक्तचाप जस्ता कुराको जाँच गरिन्छ । 

यसैगरी छातीको एक्सरे, एचआईभी परीक्षण, हेपटाइटिस बी र हेपटाइटिस सी, मधुमेह, एसजीओटी, गर्भावस्था जाँच, मलेरिया र माइक्रो फिलारियल पारासाइट, रगतको मोटोपन लगायतका परीक्षण गरिन्छ । बायोमेट्रिकमा आईआरआईएस र अनुहारकाे फाेटाे , हत्केलासहितको दशवटै औंलाको औंठा छाप लिइन्छ । 

२. कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुन्छ । प्रवन्धक क्षेत्रीका अनुसार कतार जाने नेपाली कामदारले सेन्टरबाट सेवा लिए बापत एक रुपैयाँ पनि तिर्नु पर्दैन । 

३. कतार भिसा सेन्टरले भिसा सम्बन्धी कुनै पनि काम गर्दैन । कतारबाट भिसा रिफ्रेन्स नम्बर आएपछि मात्रै कतार भिसा सेन्टरमा बायोमेट्रिक र स्वास्थ्य परीक्षणका लागि समय लिने हो । यसले बायोमेट्रिक र स्वस्थ्य परीक्षणसँगै करार सम्झौतामा सही गर्न सहजीकरण मात्रै गर्ने क्षेत्रीले बताउनुभयो ।

४. कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ । रोजगारदाताले गरेको अफर स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेमा कामदार निर्णय लिन स्वतन्त्र हुन्छ । कामदारले कतारी श्रम कानुनबमोजिम तयार भएको गुणस्तर करारपत्र हातमै पाउने सुविधा छ । 

कामदारलाई हुने फाइदा 

१. कतारमा पुगेपछि मात्रै हुने स्वास्थ्य परीक्षण र बायोमेट्रिक अब स्वदेशमै सुरु हुँदा कामदारलाई सजिलो भएको छ ।

यदि कुनै अवस्थामा स्वास्थ्य परीक्षण पास नभएमा कतारबाट फर्किनु पर्ने अवस्था थियो । वा बायोमेट्रिक गर्दा कुनै अप्ठ्यारा देखिएमा कामदारलाई स्वदेश फर्किन पनि असहज हुन्थ्यो । कतार जाँदाको खर्च र समय बढी हुन्थ्यो । अब त्यसो हुने छैन । 

२. कामदारले कतारमा पुगेपछि पाउने काम, तलब, सेवा सुविधा लगायतका सबै सत्य जानकारी पाउनेछन् । म्यानपावर वा एजेण्टले जे भनेको भए पनि सेन्टरमा नै करार सम्झौतामा सही गर्नुपर्ने भएकाले सत्य जानकारी पाइन्छ । कतार पुगेपछि म्यानपावरले यसो भनेको थियो भनेर पछुताउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

३. आफूले पाउने सेवा सुविधाको बारेमा चित्त नबुझेमा कतार नजाने निर्णय गर्न पनि पाइन्छ । अन्यथा रोजगारदाता र अरु कोहीसँग कुरा गरेर फेरि भिसा सेन्टरमा समय लिएर करारमा सहि गर्न पनि पाइन्छ । 

४. कतार पुग्ने बित्तिकै कामदारले सहज रुपमा काम गर्न पाउनेछन् । कतारको परिचय पत्र बनाउन सहज हुन्छ । किनकी भिसा सेन्टरबाट भएका कामहरु सिधै कतारको आन्तरिक मन्त्रालयसँग जोडिने भएकाले कार्ड बन्न सजिलो हुन्छ । 

५. कतार पुगेपछि गर्नुपर्ने सरकारी कामहरु जस्तै बैंक खाता खोल्न, इन्स्युरेन्स गर्न पनि सहज र छिटो हुनेछ । 

अन्य देशमा जस्तो ‘लाउन्ज’ सुविधा नेपालमा छैन 

कतारले प्रमुख रूपमा कामदार आपूर्ति गर्ने श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिन थालेको छ ।

यी देशमा खोलिएको भिसा सेन्टरको व्यवस्थापन गर्ने ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज फी भने लिइरहेका छन् । तर नेपालमा यो लाउन्ज सुविधा नै नभएको सेन्टरका प्रवन्धक गौरब क्षेत्रीले बताउनुभयो । 

लाउन्ज सुविधा विशेषगरी सेन्टरमा ‘अपोइन्टमेन्ट’ नलिएकाले लिने हुँदा बाहिर हल्ला भएजस्तो रोजगारीमा जाने कामदारबाट यो शुल्क लिने भन्ने तर्क सही नभएको उहाँको भनाइ छ ।

‘हतारमा भएकाहरुले लाउन्ज सुविधा प्रयोग गरेर केही रकम तिरेर छिटो सुविधा लिने हो, जस्तै बिजनेश म्यानहरुले समयको अभावमा सेन्टरमा अपोइन्टमेन्ट लिनुभएको छैन भने लाउन्ज सुविधा प्रयोगर्न पाउछन्,’ क्षेत्री थप्नुहुन्छ, ‘नेपालमा अहिले यो सुविधा नै छैन, सामान्य अवस्थामा यो सुविधा लिनु पनि पर्दैन र यसबापतको पैसा तिर्नै पर्दैन ।’

लाउन्ज फीबापत भारतमा २५ सय भारु, बंगलादेशमा २९ सय टाका, श्रीलंकामा ६ हजार एलकेआर, पाकिस्तानको इस्लामवादमा ४८ सय ४० र कराचीमा ४७ सय १५ पाकिस्तानी रुपैयाँ लिइने गरेको छ । तर नेपालमा भने यो सुविधा छैन । 

भविष्यमा बिजनेश भिसा र टुरिस्ट भिसाको विषयमा पनि सेन्टरले काम गरेमा यो सुविधा हुन सक्नेछ । तर यो अनिवार्य भने होइन । यो सुविधा हुँदा पनि यसको प्रयोग गर्नैपर्छ भन्ने नभएको क्षेत्रीले बताउनुभयो । 

कतारले भिसा सेन्टरबाट कतार जान खोज्ने कामदारलाई नै बढी फाइदा पुग्ने क्षेत्रीको दावी छ । उहाँ भन्नुहुन्छ, ‘पहिले कतार गएपछि यो सबै प्रक्रिया हुन्थ्यो, कुर्न पथ्र्यो, केही गरी नमिलेमा फर्किनु पर्ने अवस्था आउँदा कामदारलाई मानसिक चिन्ता पनि थपिन्थ्यो, तर अब यहीँबाट कतारमा पुगेर गर्नुपर्ने काम गर्दा कामदारलाई फाइदा पुग्ने छ ।’

भिसा सेन्टरमा बायोमेट्रिक र स्वास्थ्य परीक्षण गराए पछि कसको भिसा आयो या आएन, को सफल भयो या भएन भन्ने कुरा रोजगारदाता नै जिम्मेवार हुने र रोजगारदाताले नै खबर गर्ने उहाँले बताउनुभयो । 

कतारको गृह मन्त्रालयले नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, नेपाल, इन्डोनसिया र टयुनिसियाका भिसा आवेदकहरुको बायोमेट्रिक दर्ता तथा स्वास्थ्य परीक्षण सेवा सञ्चालनका लागि बायोमेट सर्भिसेसलाई सम्पूर्ण अधिकार दिएको छ । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया