दातृ निकायको भर पर्दा दोलखाका १३ विद्यालयका विद्यार्थी अस्थायी टहरोमै

 साउन १६, २०७६ बिहिबार २०:४२:१९ | उषा तामाङ
unn.prixa.net

दोलखा – दातृ निकायको भर पर्दा दोलखाको १३ विद्यालयका विद्यार्थी भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अस्थायी टहरामै पढ्न बाध्य भएका छन् । 

भारतीय राजदूतावासले १० ओटा विद्यालयको भवन र चिनियाँ सरकारले ३ ओटा विद्यालयको भवन निर्माण गर्ने भने पनि अहिलेसम्म विद्यालय निर्माण प्रक्रिया अघि बढेको छैन । 

भारतीय राजदूतावास र चिनियाँ सरकारले निर्माण गर्ने भनिएका विद्यालयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा र अन्य निकायलेसमेत विद्यालय भवन निर्माण नगरिदिँदा यी विद्यालयका विद्यार्थी जस्ताको अस्थायी टहरोमै पढ्न बाध्य भएका छन् ।  

भारतीय राजदूतावासले भूकम्प गएलगत्तै जिल्लाको कालिञ्चोक मावि चरिकोट, कालिनाग मावि सुनखानी, भीम मावि दोलखा, क्षत्रावती मावि क्षेत्रपा, कालिढुंगा मावि मिर्गे, शान्ति आदर्श मावि लादुक, मानेडाँडा मावि झ्याकु, दुर्गा मावि मागापौवा, गुप्तेश्वर मावि मालु, कालापानी मावि जफेको विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएको थियो । भूकम्प गएको ४ वर्ष पूरा भए पनि विद्यालय भवन बनेको छैन । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका सूचना अधिकारी इञ्जिनियर राजेन्द्र श्रेष्ठले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले साउन महिनाभित्र निर्माण व्यवसायी छनौट सम्पन्न गरी विद्यालय निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो । 

यसैगरी, चीन सरकारले शिक्षा विभागमार्फत् भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएको दोलखाको जिरी नगरपालिकामा रहेको जिरी माविको भवन अहिलेसम्म निर्माण भएको छैन । चिनियाँ सरकारले झण्डै १ अर्ब १७ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गर्ने भएपछि भएको विद्यालय भवनसमेत भत्काएर जस्ताको अस्थायी टहरो विद्यालय आफैँले निर्माण गरेको थियो । 

अहिले अस्थायी टहरोबाट पानी चुहिने भएपछि प्लास्टिक राखेर पानी रोक्ने र घाम लागेको समयमा विद्यार्थीलाई खुला चौरमा राखेर पठनपाठन गरिरहेको विद्यालयका प्रध्यानाध्यापक केशव कार्कीले जानकारी दिनुभयो । यो विद्यालय निर्माणका लागि जेठ पहिलो हप्ता नेपाल सरकार र चीन सरकारका प्रतिनिधिबीच सम्झौता भएको थियो ।

भूकम्पपछि चीन सरकारले झण्डै ४०-४० करोडको लागतमा निर्माण गर्ने जिम्मा लिएको दोलखाको सिंगटीको कालिनाग मावि र जिलुको सर्व मावि भवन नबन्दा विद्यार्थी अस्थायी टहरोमै अध्ययन गर्न बाध्य छन् । कालिनाग मावि सिंगटीका प्रध्यानध्यापक दात्ताराम नेपालले चिनियाँ सरकारको आशमा पानी पर्ने संकेत देखिनासाथ विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो ।

चिनियाँ सरकारले निर्माण गर्ने भनिएको विद्यालयका लागि निर्माण कम्पनी, कामदार चीनबाटै आउने जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले जनाएको छ । चीन सरकारले भदौ अन्तिम हप्ताबाट काम थाल्ने इञ्जिनियर श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया