सर्लाहीकाे बरहथवामा बागमती नदीकाे कटान तीव्र

 साउन १६, २०७६ बिहिबार २०:३१:३२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - बरहथवा नगरपालिका-१, हजरियामा बागमती नदीले दैनिक खेतीयोग्य जग्गा कटान गरिरहेको छ ।

बागमती नदीले धार परिवर्तन गरेर दैनिक २,३ बिघाको दरले खेतीयोग्य जग्गा कटान गरिहेको स्थानीयले बताएका छन् । असार २५,२६ र २७ गते बागमती नदीमा आएको बाढीले बाँध तटबन्ध भत्काएपछि खेतीयोग्य जग्गा कटानमा परेको बरहथवा नगरपालिका-१ का वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो।

नदी कटान रोक्न बनाएका तट्बन्ध र बालुवाका संरचना भत्काएपछि खेतीयोग्य जग्गा कटानमा परेको हो। नदीमा पानीको बहाव निकै रहेकाले अहिले पनि त्यस ठाउँमा  जमिन कटान भैरहेको र  नदीलाइ साविकको ठाउँमा पुर्याउन समस्या रहेको बरहथवा नगरपालिकाका उपप्रमुख सितादेवी माझीले जानकारी दिनुभयो।

त्यस ठाउँमा अहिले नदी कटान रोक्न बरहथवा नगरपलिका र बागमती लालबकैया नदी नियन्त्रण आयोजना बारा प्रवानिपुरले अस्थायी संरचना निर्माणको काम धमाधम गरिरहेको छ। बागमती नदीलाइ पुरानै ठाउँमा फर्काउन झण्डै चार करोडभन्दा बढी रकम खर्च गर्नुपर्ने बरहथवा नगरपालिकाका इन्जिनियर रोशन चौधरीले जानकारी दिनुभयो।

बागमती नदीकाे जग्गा कटान नरोकिएपछि बिहीबार बरहथावा नगरपालिकाका उपप्रमुख सितादेवी माझी,योजना अनुगमन शाखाका प्रमुख होमबहादुर थापा, नगरपालिकाका कानुनी सल्लाहकार महेश बराल,इन्जिनियर रोशन चौधरी लगायतले नदी कटान तथा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएकाे थियाे ।उहाँहरुले तत्कालै त्यस ठाँउको नदी कटान नरोके आगामी दिनमा बरहथवा नगरपालिकासहित बसरवरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका र बलरा नगरपालिकामा बाढी र डुबानको उच्च जोखिम पर्ने पनि बताउनुभयाे ।

बागमती नदीले धार परिवर्तन गरेर बहाव पूर्वतर्फ मोडिएपछि खर्सालघाटका किसानले लगाएको सयौँ बिघा जमिनको धान, मकै, उखु, दलहन बाली पूर्णरुपमा नष्ट भएको छ। नियन्त्रणका लागि विभिन्न कार्यालयमा पटक–पटक गएपनि रोकथामका लागि कुनै सुनुवाई नभएको स्थानीयको भनाइ छ । बाढी यता बागमती नदीले झण्डै दुई किलोमिटर लामो खेतीयोग्य जमिनलाइ बगरमा परिणत गरेको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया