एसेज सिरिज : पूर्व कप्तान स्मिथको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाको सम्मानित योगफल

 साउन १७, २०७६ शुक्रबार ६:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व कप्तान स्टिभ स्मिथले जिम्मेवार पारी खेल्दै १४४ रन प्रहार गरेपछि एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले २८४ रनको सम्मानित योगफल खडा गरेको छ । 

अन्तिम विकेटका रुपमा स्टुवार्ट ब्रोडको बलमा बोल्ड हुनुअघि स्मिथले १४४ रनको सानदार शतकीय पारी खेले । बल टेम्परिङ प्रकरणपछि १ वर्षको प्रतिबन्ध झेलेर टिममा पुनगरागमन गरेपछिको पहिलो टेष्ट खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे । 

बर्मिङघमको एनबास्टोन रंगशालामा कप्तान टिम पाइनेले टस जितेर पहिले ब्याटिङ रोजेयता अस्ट्रलियाली टोली निरन्तर दवावमा देखिएको थियो । क्यामरुन बेनक्रफ्ट (८) र डेभिड वार्नर (२) सस्तैमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका उस्मान ख्वाजाले पनि १२ रनमात्र जोड्न सके ।

स्मिथ चौथो नम्बरमा ब्याटिङमा आएका हुन् । उनले एउटा एन्डबाट संहालिएको प्रदर्शन गरे पनि अर्को एन्डबाट निरन्तर विकेट झरिरह्यो । चौथो विकेटका लागि स्मिथले त्राभिस हेडसँग मिलेर ६४ रनको साझेदारी गरेका थिए ।

९९ रन हुँदा चौथो विकेटका रुपमा हेडलाई ३५ रनको व्यक्तिगत स्कोरमा गुमाएको अष्ट्रेलियाले थप २३ रन जोड्दा अन्य चार विकेट गुमायो । म्याथ्यु वेड १, कप्तान टिम पाइने ५, जेम्स प्याटिन्सन ० र प्याट कुमिन्स ५ रनको स्कोरमा पेविलियल फर्किए ।

स्पिथले नवौं विकेटका लागि पिटर सिडलसँग मिलेर ८८ र अन्तिम विकेटका लागि नाथान ल्योनसँग मिलेर ७४ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले सम्मानित योगफल खडा गरेको हो । सिडलले ४४ रनको योगदान गरे । ल्योन १२ रनमा अविजित रहे । 

घरेलु टोली इंग्ल्यान्डका लागि ब्रोडले ५ विकेट लिए । उनले २२.४ ओभरमा ४ मेडन राख्दै ८६ रन खर्चिए । क्रिश वोक्सले ३ विकेट लिए । उनले २१ ओभरमा २ मेडन राख्दै ५८ रन खर्चिए । बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया