संकलन र प्रशाेधन नहुँदा कराेडाैँ बराबरकाे शीलाजित भिरमै

 साउन १७, २०७६ शुक्रबार ११:५१:२५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - उत्खनन र प्रशोधन हुन नसक्दा बैतडीका भिरहरुमा पाइने बहुमूल्य जडीबुटी शीलाजितको खेर गइरहेको छ । ठूल्ठूला भिरहरुमा गर्मीको महिना चुहिने शीलाजितको उचित संकलन र प्रशोधन अहिले सम्म हुन सकेको छैन । 

यहाँका धेरैजसो ठाउँमा शीलाजित पाइने भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्यराज नरेन्द्र कलौनीले बताउनुभयो । गाउँघरमा परम्परागत रुपमा भिरहरुबाट स्थानीयहरुले निकालेर शीलाजित बनाउने गरेको तर राज्यका तर्फबाट यसकाे व्यवसायिक रुपमा उत्खनन र प्रशोधन हुन नसकेको उहाँले बताउनुभयो ।

शीलाजित हरेक बिरामीहरुका लागि उपयोगी भएको वरिष्ठ वैद्यराज कलौनीले बताउनुभयो । ‘शीलाजितलाई हरेक रोगमा टनिकको रुपमा प्रयोग गर्न सकिन्छ, यसलाई चोटपटक लागेमा, शरीर दुख्ने समस्या भएको बिरामीहरुका लागि बढी मात्रामा प्रयोग गर्ने गरिएको छ, उहाँले बताउनुभयो ।

ठूला-ठूला भिरहरुका चट्टान तथा ढुंगाहरु पग्लेर शीलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचाैरमा कार्यरत रामदत्त भट्टले बताउनुभयो । बैतडीको दशरथचन्द नगरपालिका-१०, झुलाघाट नजिकैको मौरा भिर, पञ्चेश्वरको बलाराभिर, सुर्नयाको रौलेश्वर भिरलगायत ठूलाठूला भिरहरुमा शीलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले भनाइ छ ।

सूर्यतापी र अग्नितापी शीलाजित

शीलाजित दुई किसिमको हुने कलौनीले बताउनुभयो । भिरबाट संकलन गरेर ल्याएका शीलाजितयुक्त ढुंगाहरुबाट दुई किसिमको शीलाजीत निकाल्न सकिने उहाँको भनाइ छ । सूर्यको किरणमा शीलाजितयुक्त ढुंगा राखेर त्यसबाट शीलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शीलाजीत भन्ने गरिन्छ ।

शीलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर संकलन गरेमा त्यसलाई अग्नितापी शिलाजीत भन्ने गरिन्छ । भिरबाटै संकलन गर्न सके निकै शुद्ध शीलाजित निस्किने उहाँले बताउनुभयाे । 

बैतडी जिल्लामा शीलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । शीलाजितलाई पनि वन-पैदावार जडिबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया