कैलालीमा नक्कली नोटको बिगबिगी, एक जना पक्राउ

 साउन १७, २०७६ शुक्रबार १४:२७:३२ | सीताराम ओझा
unn.prixa.net

धनगढी - कैलालीमा नक्कली नोटको बिगबिगी बढेको छ ।

केही समय अलिक कम देखिएकाे नक्कली नोटहरु फेरि विभिन्न स्थानमा देखिन थालेका हुन् । नक्कली नोटको कारोबार गर्नका लागि गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि पनि  धनगढीको पिपलचौतारामा रहेकाे तरकारी पसलमा नक्कली नोट फेला परेको थियो । एकपछि अर्काे गर्दै धनगढीमा नक्कली नोट फोला पर्न थालेपछि प्रहरीलाई चुनौती थपिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोट सहितपक्राउ गरेको हो ।

एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट साट्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ मा रहेकाे सेती अस्पतालको फार्मेसीमा उनले नोट साट्न लागेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरेकाे थियाे।

हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट पक्राउ गरेको हो । चौधरीको साथबाट एक हजारका थप ४ वटासहित २१ वटा नक्कलीनोट बरामदगरिएको प्रहरीले जनाएको छ ।

खोटा चलन शीर्षकमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया