हराएकाहरुकाे सूचीमा थरीथरीका व्यक्ति

 साउन १७, २०७६ शुक्रबार १५:२२:२९ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - झापाको कमल गाउँपालिकाकी समिना जेठको मध्यतिर एकाएक हराइन् । घर नजिकै रहेको एउटा निजी विद्यालयमा काम गर्थिन् उनी । उनका श्रीमान अशोक पनि वैदेशिक रोजगारीको सिलसिलामा ४ वर्ष मलेसिया बसेर फर्केका थिए । 

एक छोरा र एक छोरीकी आमा हराएपछि उनका पति अशोकले खोजी गरिदिन आग्रह गर्दै जेठ २० गते प्रहरीमा निवेदन दिए । त्यसको केही दिनपछि समिनाले पति अशोकलाई फोन गर्दै आफू हेटौँडा रहेको बताउँछिन् । श्रीमतीले फोन गरेपछि अशोकले पनि प्रहरीलाई श्रीमती सम्पर्कमा आएको जानकारी दिन्छन् । 

इलाम घर भएका अशोक श्रीमतीको माइतमै बस्दै आएका छन् । अशोककै अनुसार उनी घरज्वाईँको रुपमा छन् । श्रीमतीको आमा बाहेक अरु नरहेकाले आफू श्रीमतीसँगै उनकै माइतमा घरज्वाईँको रुपमा बस्दै आएको अशोकको भनाइ छ ।

तर हेटौँडामा छु भनेर फोन गरेकी समिना फेरि सम्पर्कविहीन भइन् । झण्डै एक सातापछि सम्पर्कमा आएकी समिनाले आफू काठमाण्डौमा रहेको र खोजी नगर्न भन्दै श्रीमानलाई फोन गर्छिन् । श्रीमान् अशोक पनि समिनालाई यसबीचमा सकेसम्म मनाउन लागि पर्छन् ।

दिनहुँ फोनबाटै सम्झाउँदा सम्झाउँदा समिना घर आउन तयार हुन्छिन् । घर पुगेर पहिले जस्तै विद्यालयमा काम गर्न थाल्छिन् । तर एक साता नहुँदै फेरि समिना काठमाण्डौ फर्किन्छिन् । 

एक पटक काठमाण्डौ गएर फर्कँदा गाउँकाले अनेकथरी भनेको भन्दै समिनाले आफू यहाँ नबस्ने भन्दै छाडेर हिँडेको श्रीमान अशोकले बताए । श्रीमती हिँडेपछि आफू सासू र दुई छोराछोरी हेरेर बसेको अशोक सुनाउँछन् । श्रीमती आफ्नो सम्पर्कमा रहेको प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले हराएकाको सूचीमा राखेकोप्रति भने उनको आपत्ति छ । 

यस्तै जेठको मध्यतिरै अर्घाखाँची छत्रदेव गाउँपालिका की २५ वर्षीया राधिका हराइन् । सासु ससुरासहित घरमा बस्दै आएकी राधिका हराएपछि उनका ससुराले खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिए । 

प्रहरीमा उजुरी दिएको झण्डै १० दिनपछि प्रहरी र माइती नेपालको सहयोगमा भारतको सिम्लाबाट राधिकालाई घर फर्काइयो । ३/४ वर्षको छोराकी आमा घरै छाडेर हिँडेपछि बुहारीको खोजी गरेको ससुरा बताउँछन् । 

राधिकाका श्रीमान् वैदेशिक रोजगारीमा कतार गएको २ वर्ष मात्रै भएको थियो । श्रीमती हराएको खबरपछि उनी हतारहतार घर आए । अहिले दुवैबीच सहमति भएपछि श्रीमान् फेरि कतार फर्किसकेका छन् ।  तर प्रहरीको तथ्यांकमा भने अझैसम्म राधिकाको नाम हराएका व्यक्तिहरुको सूचीमा उल्लेख छ ।  

बाँकेको नेपालजगञ्ज उपमहानगरपालिका १८ की निता असारको सुरुवातमा हराइन् । २ दिनसम्म घरमा नआएपछि उनका भिनाजुले साली हराएको भन्दै प्रहरीमा निवेदन दिए । २ दिनपछि निता सम्पर्कमा आएपछि भने प्रहरीलाई जानकारी दिइएको उनका भिनाजु बताउँछन् । तर प्रहरीले नितालाई अझै हराएको सूचीमै राखिरहेको छ । 

अर्घाखाँचीको खन्धिखर्क नगरपालिकाका किसन राना मगर जेठमा परिवारबाट सम्पर्कविहीन भए । ८ दिनसम्म पनि किसनको बारेमा कुनै जानकारी नपाएपछि उनका परिवारले खोजी गरिदिन भन्दै जेठ ३१ गते प्रहरीमा निवेदन दिए । 

प्रहरीले उनको खोजी गर्यो या गरेन थाहा भएन । तर निवेदन दिएको केही दिनपछि किसन आफैंले श्रीमतीलाई फोन गरेर आफू कमाउनका लागि भारत आएको सुनाए । 

भारत पुगेर श्रीमानले टेलिफोनमा भनेको कुरा उनकी श्रीमती रमिता अझै झलझली सम्झिन्छिन् । ‘तिमीहरुलाई बिर्सेर हिँडेको होइन, तर के गर्नु पैसा नभएपछि हेलाँ हुने रहेछ त्यही भएर पैसा कमाउन म भारत आएँ ।’ श्रीमानले भनेको यो शब्दले रमितालाई नराम्रोसँग बिझाएको छ । श्रीमान्का बारेमा कसैसँग कुरा गर्दा उनको गलामा यो शब्द आएर अड्कन पुग्छ ।  

तर पनि श्रीमान् कमाउन गएकाले कमाएपछि घर फर्कन्छन् भन्ने आशमा उनी बसेकी छिन् । अहिले भने हरेक दिनजसो कुराकानी हुने गरेको रमिता बताउँछिन् । श्रीमान् परिवारको सम्पर्कमा आएकोबारे प्रहरीलाई जानकारी गराएको उनले बताइन् । तर अझैसम्म प्रहरीले राखेको हराएकाको सूचीमा भने किसनको नाम भेटिन्छ ।  

झण्डै ४ सय हराएको उजुरी 

यो त प्रतिनिधि घटना मात्रै हुन् । प्रहरीकै तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७५/०७६ मा ३ सय ८५ जना हराएको भन्दै खोजी गरिदिन परिवारले उजुरी दिएका थिए । यसमध्ये हामीले कुरा गरेका धेरैजसो अहिले परिवारको सम्पर्कमा छन् । 

कोही आपसी झगडाका कारण घरबाट निस्केका, कोहीले बिहे गरेका र कोही घरमा केही नभनी कमाउन भारत छिरेकाहरु प्रहरीको हराएका व्यक्तिको सूचीमा छन् । तर हराएका भनेर प्रहरीमा उजुरी परेकाहरु फेला परेको भन्ने बारेमा भने प्रहरीसँग तथ्यांक छैन । फेला परेपछि प्रहरीलाई खबर गरेको भए पनि प्रहरीले हराएका व्यक्तिको सूचीबाट फेला परेका व्यक्तिको नाम हटाएको छैन । 

हराएको उजुरी लिएर हराएकाको खोजी गर्नमा प्रहरी जसरी उदासिन बन्यो हराएको व्यक्ति फेला पर्यो भनेर उजुरी दिनेले जानकारी दिँदा पनि प्रहरीले हराउने व्यक्तिको सूचीबाट नाम हटाउन भने कुनै चासो दिएको देखिँदैन । 

जसका कारण अहिले घर परिवारसँगै रहेका व्यक्ति पनि प्रहरीको हराउने व्यक्तिको सूचीमा परेका छन् । 

हराउनेमा महिला धेरै 

यो अवधिमा धेरैजसो महिला हराएका उजुरी परे । ३ सय ८५ जना हराएको उजुरी परेकोमा २ सय ९५ जना महिला मात्रै छन् । त्यसमा पनि धेरैजसो १५ देखि ३० वर्ष उमेर समूहका महिला रहेको तथ्यांकले देखाएको छ । 

यो उमेर समूहका २ सय २० जना हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् । यस्तै ३० देखि ४५ वर्ष उमेर समूहका ५९ जना, ४५ वर्ष माथिका ५ जना र १५ वर्षभन्दा तलका ११ जना हराएको सूचीमा छन् ।  

प्रहरीमा हराएको भनेर उजुरी परेका १५ देखि ३० वर्ष उमेर समूहका अधिकांसले परिवारको सहमति विपरित विवाह गर्दा हराएको भनेर प्रहरीमा उजुरी पर्ने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुका अनुसार अधिकांश किशोर किशोरी हराएको भन्दै परिवारले उजुरी गर्ने गरेका छन् ।

त्यसमा पनि धेरैजसो त किशोरी हराएका उजुरी छन् । कतिपय अभिभावकले किशोरीले प्रेम विवाह गरेको मन नपाराउने र त्यसबाट छुटाएर आफूले रोजेकोसँग विवाह गराइदिन पनि हराएको भन्दै प्रहरीमा उजुरी गर्ने गरेका छन् । हराएको भनेर उजुरी आएपछि प्रहरीले त्यसमा बेवास्ता नगरी उनीहरुको खोजी गर्ने गरेको प्रहरी नायब उपरीक्षक खिउजुको दावी छ । 

प्रहरीमा उजुरी आएपछि हराएका भनिएका व्यक्तिको लोकेसन ट्रयाक गर्ने, उ जानसक्ने संम्भावित स्थानहरुमा सोधपूछ गर्ने तथा अन्य विभिन्न तरिकाबाट प्रहरीले अनुसन्धान गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

आवश्यक प्रकृयापछि मात्रै हट्छ नाम

प्रहरीले हराएकाको उजुरी मात्रै लिने काम गर्ने नभइ त्यसपछि खोजी गरेर परिवारलाई जिम्मा लगाउनेसम्मको काम गरेको मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुको दावी छ । 

हराएका व्यक्ति फेला परेपछि आफूहरुले हराएको सूचीबाट फेला पर्ने व्यक्तिको नाम हटाउने गरेको खिउजुले बताउनुभयो । तर हामीले कुरा गरेका अधिकांशले आफ्नो व्यक्ति भेटिएको भनेर प्रहरीमा जानकारी गराएको बताएका छन् । तर उनीहरुको नाम पनि प्रहरीले अझैसम्म हराएको सूचीबाट हटाएको छैन ।  

प्रहरी नायब उपरीक्षक खिउजु भने हराएका व्यक्ति परिवारले भेटीसकेपछि अब  पुलिसलाई किन भन्नु पर्यो भन्ने गर्नाले पनि हराएका व्यक्तिको नाम सूचीबाट हट्न नसकेको बताउनुहुन्छ । हराएका मान्छे भेटे पनि हराएकाहरुको सूचीबाट नाम हटाउन आवश्यक प्रकृया भने पूरा गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।  

अभिभावकले प्रहरी कार्यालयमा गएर हराएका व्यक्ति भेटेको भनेर कागजपत्र गरेपछि मात्रै प्रहरीले भेटेका व्यक्तिको हराएका व्यक्तिको सूचीबाट नाम हटाउने भएकाले आवश्यक प्रकृया पुर्याइदिन उहाँले आग्रह पनि गर्नुभयो । 

(हराएका व्यक्ति र परिवारको नाम परिवर्तन गरिएको छ ।) 

अन्तिम अपडेट: फागुन २९, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया