सार्वजनिक शौचालयमा किराना पसल !

 साउन १९, २०७६ आइतबार ११:४०:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसीले केही वर्षदेखि नै सार्वजनिक शौचालयमा किराना पसल सञ्चालन गर्दै आउनु भएको छ ।

पिपल्लामा विसं २०७४ सालमा डोटी उद्योग वाणिज्य संघको पहलमा यो सार्वजनिक शौचालय निर्माण गरिएको हो । बाटो हिँड्ने बटुवा र स्थानीयको आवश्यकता महसुस गरेर वाणिज्य संघ र सुदूरपश्चिम खानेपानीको कार्यालयको सहयोगमा ६ लाखभन्दा बढी रकममा शौचालय निर्माण भएको हो । तर सार्वजनिक शौचालयमा पसल राखिएपछि समस्या भएको स्थानीय भरत खड्काले बताउनुभयो ।

शौचालयको निर्माण गरेपछि त्यसको व्यवस्थापन नगर्दा यस्तो समस्या आएको स्थानीयले बताएका छन् । शौचालयको एउटा कोठामा खन्टी केसीले बाख्रा र कुखुरा पालन गर्नुभएको छ । एउटा कोठामा पसल सञ्चालन गर्नु भएको छ ।

व्यवस्थापनको कमजोरीका कारण सार्वजनिक शौचालय निजी व्यक्तिले प्रयोगमा ल्याउँदा अहिले पिपल्लामा सार्वजनिक शौचालय छैनन् । यसले गर्दा स्थानीय तथा बाटोमा हिँड्ने मानिसहरु समस्यामा पर्ने गरेका छन् ।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले भन्नुभयो, ‘म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि त्यसको व्यवस्थापनको जिम्मा कसले लियो थाहा छैन ।’ सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको शौचालयमा खानेपानी कार्यालयले निशुल्क पानी दिँदै आइरहेको छ ।

त्यस्तै, दिपायल सिलगढी नगरपालिकाले करिब १२ वर्ष पहिले पिपल्ला बसपार्कमा निर्माण गरेको सार्वजनिक शौचालय पनि प्रयोगविहीन भएको छ । लाखौँको लागतमा निर्माण भएको  भवनमा सरसफाइ तथा पानी नभएका कारण प्रयोग गर्न समस्या भएको शैलेश्वरी यातायातका कर्मचारी टेक शाहले बताउनुभयो ।

बसपार्कमा निर्माण गरिएको शौचालयको व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयहरुमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भैरहेको बताउनुभयो । अब छिट्टै नै निर्माण भएका शौचलय प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया