वेष्ट इण्डिजविरुद्धको टी–२० श्रृङ्खलामा भारतको अग्रता

 साउन १९, २०७६ आइतबार १२:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिजविरुद्धको ट्वान्टी-२० क्रिकेट श्रृङ्खलामा भारतले अग्रता बनाएको छ । अमेरिकाको फ्लोरिडामा भएको पहिलो खेलमा भारतले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इण्डिजले दिएको ९६ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा १७.२ ओभरमा पूरा गर्‍यो ।

सामान्य लक्ष्य भए पनि भारतलाई निकै हम्मे परेको थियो । चोटबाट पुनरागमन गरेका शिखर धवन  दोस्रो ओभरमै १ रनको स्कोरमा आउट भएका थिए ।

विश्वकपका सर्वाधिक रनकर्ता रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए । कप्तान विराट कोहली र मनिष पाण्डेले समान १९ रनको योगदान गरे । ऋषभ पन्त पहिलो बलमै आउट भएका थिए ।

त्यस्तै, क्रुणाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंङ्टन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, किमो पल र सुनील नारिनले दुई–दुई विकेट लिए ।

फ्लोरिडामा रहेकाे सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।

वेष्ट इण्डिजका लागि कायरन पोलार्ड र निकोलास पुरनले मात्र दोहोरो अंकको रन जोडेका थिए । पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे । अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।

वेष्ट इडिजका दुवै ओपनर जोन च्याम्पवेल र एभिन लेविसले खाता खोल्न सकेनन् । तेस्रो नम्बरमा पुरन र चौथो नम्बरमा पोलार्डले संयमित पारी खेलेका थिए ।

पोलार्डले एउटा एन्डबाट रन बनाएपनि अर्को छेउबाट विकेट झर्न रोकिएन । अन्तिम ओभरको तेस्रो बलमा ठूलो शटको चक्करमा आउट भएको पोलार्डले ४९ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

भारतीय टोलीबाट डेब्यू खेलेका नवदीप सैनीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १७ रनमात्र खर्चिए । भुवनेश्वर कुमारले पनि २ विकेट झारे । श्रृङ्खला अन्तर्गत भारतले वेष्टइन्डिजसँग ३ ट्वान्टी खेल खेल्नेछ । दोस्रो खेल आज हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया