प्याराडाइज म्यानपावरमा विभागको छापा

 साउन १९, २०७६ आइतबार १७:२१:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले बखुण्डोलमा रहेको प्याराडाइज म्यानपावरमा छापा मारेको छ । यूएई पठाउने भन्दै बढी शुल्क मागेको सूचनाको आधारमा विभागमा छापा मारिएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

म्यानपावरले यूएईको एक कम्पनीमा क्लिनर काममा पठाइदिने भन्दै कामदारसँग चर्को शुल्क मागेको सूचना पाएपछि विभागको टोली पुगेको थियो । विभागको टोली म्यानपावरमा पुग्दा पैसा मागिरहेको रंगेहात भेटिएको पनि उहाँले जानकारी दिनुभयो । 

यस्तै बन्द रहेको मलेसिया पठाइदिने भन्दै अन्तर्वार्ता लिने क्लासिक अमेभरसिज म्यानपवरमा पनि विभागले शनिबार छापा मारेको थियो । बत्तिसपुतलीमा रहेका म्यानपावरको कार्यालयमा अन्तर्वार्ता लिइरहेको ठाउँमा विभागको टोलीले छापा मारेको हो ।

कम्पनीले बाबासुन प्याकेजिङ कम्पनीका लागि भन्दै अन्तर्वार्ता लिइरहेको भेटिएको विभागले जानकारी दिएको छ । अन्तर्वार्ताका लागि १५० जना युवा लाइनमा बसेका थिए ।

अन्तर्वार्ताका लागि मलेसियाकै कम्पनीबाट ३ जना प्रतिनिधि पनि सहभागी भएको पाइएको विभागले जनाएको छ । संस्थाले त्यो कम्पनीका लागि विभागबाट पूर्वस्वीकृति पनि नलिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

टोलीले अन्तर्वार्तामा प्रयोग गरिएका कागजात नियन्त्रणमा लिएको छ भने म्यानपावरका सञ्चालकलाई २४ घण्टाभित्रै विभागमा उपस्थित हुन पनि निर्देशन दिएको छ । मलेसियाको रोजगारी २०७५ जेठ दुई गतेदेखि बन्द छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया