मोरङका किसानको गुनासो : ‘बाढीले धान खेत बगर बनायो, गुजारा कसरी चलाउने ?’

 साउन २०, २०७६ सोमबार ९:२९:१६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – चिसाङ खोलामा आएको बाढीले करोडौँ मूल्यको खेतीयोग्य जमिन बगाएपछि मोरङका किसानका आँखामा आँसु छचल्किएको छ । गएको असार २४ गते चिसाङ खोलामा आएको बाढीले धान खेतीसहित खेत बगाएपछि यहाँका किसान अब भोलिका दिनमा के खाने भन्ने पिरलोमा छन् । 

रंगेली नगरपालिका वडा नम्बर ४, ८ र ९  मा रहेका  चोप्राहा,  निसान थान, झर्ना घुटु , बाबुसाहेव टोल, दौलतपुरलगायतका स्थानमा खेतीयोग्य जमिन खोलाले कटान गरेको हो । खोलाले खेत कटान गरेपछि सयौ बिगाहा  खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । 

स्थानीय, प्रदेश र संघको निर्वाचनको बेलामा स्थानीयको माग दरिलो तटबन्ध थियो । तर त्यसको सुनुवाइ नहुँदा किसानहरु अहिले खेतीयोग्य जमिन बगाएपछि पुर्पुरामा हात राखेर बस्नुको विकल्प छैन । 

चुनावका बेलामा नागरिकसमक्ष गरिएको बाचा अनुसार खोलामा तटबन्ध निर्माण गरिएको भए अहिले यो समस्या आँउदैन थियो । स्थानीय सूर्यबहादुर कार्की भन्नुहुन्छ ‘चुनाव जितेपछि नेताहरु नागरिकका समस्या देख्दैनन् । बाढीले डेढ विघा खेत खोलामा पुग्यो, हाम्रो समस्या कसले बुझिदिने ?’

यहाँका सबैजसो किसानका गुनासा एकै किसिमका छन् । सबैका खेत बगेका छन् । खोलाले क्षती गरेको बारेमा अहिलेसम्म सोधीखोजी गर्न कोही नआएको किसानहरुकोको गुनासो छ ।

रंगेली–४ चोप्राहाका किसान सत्यदेव मण्डलको चार परिवारको पालन पोषणको एकमात्र सहारा साढे २ बिगाहा खेत खोलाले  बगाएको छ ।  भएको खेत बक्राहा खोलाले बगाएपछि  खेतको  नाममा १० कठ्ठा मात्रै बाँकी बसेको उहाँले बताउनुभयो । भएको खेत खोलामा परिणत भएपछि अब परिवार कसरी पाल्ने भन्ने पीडाले मण्डलको परिवारलाई सताएको छ  । 

यही ठाउँका उपेन्द्र मण्डलको पनि परिवारको गर्जो टार्ने एकमात्र स्रोत थियो डेढ बिगाहा खेत । उहाँको पनि सबै खेत बाढीले बगाएर बगरमा परिणत भयो । १० जनाको परिवारको आम्दानीको एकमात्र स्रोत खोलाले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता छन् उपेन्द्र ।

यी किसान जस्तै सयौँ किसानको खेत बगरमा परिणत भएको छ । समयमै खोेलाका तटबन्ध निर्माण नगरिँदा हरेक वर्ष किसानहरु भूमिहीन बन्दै गइरहेका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया