बागलुङ बडिगाडको कृत्रिम तुरतुरे ताल फुट्यो

 साउन २०, २०७६ सोमबार ९:४५:४४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको कृत्रिम तुरतुरे ताल फुटेको छ । आइतबार राति साढे २ बजे तिर तालको केही भाग फुटेपछि तटीय क्षेत्रका बासिन्दा यतिबेला त्रसित बनेका छन् । 

सोमबार बिहान ७ बजे सम्म तालको झण्डै ६० प्रतिशत भाग फुटेको स्थानीयहरुले बताएका छन् । ताल नजिकै बडिगाडखोलाले मध्यपहाडि लोकमार्गको झण्डै १ सय ५० मिटर सडकसमेत बगाएको छ । सडक बगाएपछि बिहानैदेखि बागलुङ – बुर्तिवाङ सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएको वर्ष बडिगाड गाउँपालिका ७ अन्तर्गत तुरतुरे भन्ने स्थानमा ठूलो पहिरो जाँदा पहिरोले वडिगाडखोला थुनेपछि त्यहाँ ठूलो ताल बनेको थियो । तटीय क्षेत्रमा रहेका बडिगाड गाउँपालिका अन्र्तगत पर्ने खाल बजार, खार बजार र खर्वाङ बजार क्षेत्र उच्च जोखिममा रहेका छन् ।

त्यसैगरि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका अन्र्तगत रहेका तटीय क्षेत्रहरुमा समेत उच्च सतर्कता अपनाइएको छ । 

तटीय क्षेत्रका वामी, इन्द्रेगौँडा, चोरकाटे, मजुवा, रुद्रवेणी र रिडीमा गरी ६ ठाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको र त्यसैको माध्यमबाट त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

यसैगरी, तटीय क्षेत्रमा उच्च सर्तकताको लागि समन्वय गरिरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया