सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन १५ सय रुपैयाँ बढ्यो

 साउन २२, २०७६ बुधबार ११:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै महँगो हो । 

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो । 

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ । समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ । 

अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो । यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ । 

२२ वटा वाणिज्य बैंकले आलोपालो गरेर दैनिक २० किलो सुन दिने गरेपनि भाउ महँगो भएसँगै व्यवसायी बैंकमा जान छाडेका छन् । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया