उत्तर कोरियाले साइबर आक्रमणमार्फत २ खर्बभन्दा बढी रकम चाेरी गर्‍याे: संयुक्त राष्ट्रसंघ

 साउन २२, २०७६ बुधबार १२:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

संयुक्त राष्ट्रसंघको ‘लिक’ भएकाे एउटा प्रतिवेदनका अनुसार उत्तर कोरियाले आफ्नो हातहतियार  लागि आर्थिक जाेहाे गर्न साइबर आक्रमणका माध्यमबाट २ बिलियन अमेरिकी डलर अर्थात् २ खर्ब २६ अर्बभन्दा बढी रुपैयाँ चोरेको छ । 

त्यसरी बाहिरिएकाे गाेप्य प्रतिवेदनमा प्योङयोङ ( उत्तर कोरियाको राजधानी) ले रकम जम्मा गर्नको लागि बैँक र क्रिप्टो मुद्रा विनिमयलाई निशाना बनाइएको उल्लेख छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघले ३५ ओटा साइबर आक्रमणका बारेमा अनुसन्धान गरिरहेको छ । 

गएको मंगलबार उत्तर कोरियाले दुई ओटा मिसाइल प्रक्षेपण गरेको थियो, जुन दुई हप्ताभित्रको समयमा चौथो मिसाइल प्रक्षेपण हो । 

बुधबार जारी गरिएको बयानमा उत्तर कोरियाली नेता किम जोङ उनले मिसाइल प्रक्षेपण अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासको विरोधमा भएको बताएका छन् । प्योङयोङले अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासलाई शान्ति सम्झौताको उल्लंघनको रुपमा लिएको छ ।    

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को उत्तर कोरिया प्रतिबन्ध समितिलाई पठाइएको प्रतिवेदनमा भनिएको छ– ‘साइबर स्पेसकाे प्रयाेग गरेर वित्तीय संस्था तथा क्रिप्टाे करेन्सी सटही गर्ने संस्थाबाट रकम चाेर्न उच्च स्तरकाे साइबर आक्रमण गरियाे ।’ 

विशेषज्ञहरुले विदेशी मुद्रा कमाउन प्रयोग गरिने साइबर ‘माइनिङ’ गतिविधिमाथि पनि अनुसन्धान गरिरहेका छन् । 

उत्तर कोरियाले आम विनाशकारी हातहतियारहरु प्राप्त गर्न तथा जहाजबाट जहाजमा अवैध स्थानान्तरण गर्नका लागि संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरु तोडेको जारी प्रतिवेदनमा भनिएको छ ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया