सुषमा स्वराजको नेपाल ‘कनेक्सन’ : नाकाबन्दीदेखि जनकपुरका नागरिकलाई ‘भारतीय’ को संज्ञासम्म

 साउन २२, २०७६ बुधबार १३:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

एक महिनाको अन्तरालमा भारतले दुई जना राजनीतिक व्यक्तित्वलाई गुमाएको छ । गएको २० जुलाईमा दिल्लीमा सबैभन्दा बढी समय मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन भएको थियो । त्यस्तै मंगलबार राति दिल्लीकी पूर्व मुख्यमन्त्री तथा भारत सरकारकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भयो ।

१४ फेब्रुअरी १९५२ मा हरियाणा राज्यको अम्बालामा जन्मेकी सुषमा स्वाराजले आफ्नो राजनीतिक यात्रा सन् १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषद्बाट सुरु गर्नुभएको थियो । उहाँका बुवा हरदेव शर्मा राष्ट्रिय स्वयम सेवक संघका प्रमुख सदस्य हुनुहुन्थ्यो ।

उहाँले अम्बालामा रहेको सनातन धर्म कलेजबाट संस्कृत र राजनीति शास्त्रमा स्नातक गरेपछि पञ्जाब विश्वविद्यालयबाट कानुनमा ड्रिगी गर्नु भएको हो । कलेज पढ्ने बेलादेखि नै उहाँ प्रखर वक्ता हुनुहुन्थ्यो । हरियाणा सरकारको भाषा विभागद्वारा आयोजित राज्यस्तरीय प्रतियोगितामा उहाँले लगातार तीत पटक सर्वश्रेष्ठ हिन्दी वक्ताको पुरस्कार जित्नुभयो । 

कानुनको पढाइ पूरा गरेपछि सन् १९७३ बाट सुषमाले सर्वोच्च अदालताबट वकालतको अभ्यास थाल्नु भएको थियो । 

सन् १९७५ मा उहाँले सर्वोच्च अदालतकै सहकर्मी स्वराज काैशलसँग विवाह गर्नु भयो ।  स्वराज कौशल पनि सर्वोच्च अदालतकै वकिल हुनुहुन्थ्यो । स्वराज कौशल त्यो नाम हो जो सबैभन्दा कम उमेरमै ३४ वर्षमा महाधिवक्ता तथा ३७ वर्षमा सबैभन्दा कम उमेरको राज्यपाल बन्न सफल हुनुभयो । उहाँ सन् १९९० देखि १९९३ सम्म मिजोरमको राज्यपाल हुनुहुन्थ्यो । 

कम उमेरमा मन्त्री

इमर्जेन्सीका बेला सुषमाले जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभयो । इमर्जेन्सीपछि उहाँ जनता पार्टीको सदस्य बन्नुभयो । त्यसपछि सन् १९७७ मा पहिलो पटक सुषमा हरियाणा विधानसभा सदस्यमा निर्वाचित हुनुभयो ।

उहाँ २५ वर्षकै उमेरमा चौधरी देवी लाल सरकारमा राज्यको श्रम मन्त्री बन्नुभयो । उहाँ सबैभन्दा कम उमेरमा क्याबिनेट मन्त्री बन्नुभयो । दुई वर्षपछि उहाँ जनता पार्टीको राज्य अध्यक्ष चुनिनुभयो ।

सन् १९८० को दशकमा भारतीय जनता पार्टीको गठनसँगै सुषमा भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गर्नुभयो ।  उहाँ अम्बालाबाट दोस्रो पटक विधायकमा निर्वाचित हुनुभयो । उहाँ बीजेपी–लोकदल गठबन्धन सरकारमा शिक्षा मन्त्री बन्नुभयो । 

लोकसभा बहसको प्रत्यक्ष प्रसारण

सन् १९९० मा सुषमा राज्यसभा सदस्य बन्नुभयो । ६ वर्ष राज्यसभा सदस्यको कार्यकला सकिएपछि उहाँ सन् १९९६ मा दक्षिण दिल्लीबाट लोकसभा सदस्यमा निर्वाचित बन्नुभयो । त्यतिबेला उहाँ अटल बिहारी वाजपेयी नेतृत्वको १३ दिने सरकारमा सूचना प्रसारण मन्त्री बन्नु भएको थियो । त्यसै क्रममा उहाँले लोकसभामा चलिरहेको बहसलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय लिनु भएको थियो । 

सन् १९९८ मा उहाँ पुनः दक्षिण दिल्लीबाट लोकसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ यस पटक पनि सूचना प्रसारण मन्त्री बन्नुभयो । उहाँलाई दूरसञ्चार मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो । 

यस पटक उहाँको सबैभन्दा ठूलो उपलब्धिका रुपमा रह्यो भारतीय फिल्म क्षेत्रलाई उद्योगमा रुपमा घोषणा गर्ने काम । उहाँको यो घोषणा पछि भारतीय फिल्म उद्योगलाई बैंकबाट ऋण लिन सजिलो भएको थियो । 

दिल्लीको पहिलो महिला मुख्यमन्त्री

सन् १९९८ मै उहाँले केन्द्रीय मन्त्रिमण्डलबाट राजीनामा दिनुभयो र दिल्लीको मुख्यमन्त्रीको कार्यभार सम्हाल्नुभयो । तर उहाँले मुख्यमन्त्रीको पद सम्हालेको केही महिनामै विधानसभा सदस्यबाट राजीनामा दिनुभयो र राष्ट्रिय राजनीतिमा फर्किनुभयो ।

सन् १९९९ मा उहाँ कर्नाटकको बेल्लारी क्षेत्रबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीवरुद्ध चुनावमा उठ्नुभयो ।  तर उहाँ हार्नुभयो । तर सन् २००० मा उहाँ उत्तर प्रदेशबाट राज्यसभा सांसदका रुपमा केन्द्रीय राजनीतिमा आउनुभयो ।

वाजपेयी नेतृत्वको सरकारमा उहाँ पुनः केन्द्रीय सूचना प्रसारण मन्त्री बन्नुभयो । पछि उहाँलाई स्वास्थ्य, परिवार कल्याण तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइयो ।

आडवाणीको ठाउँमा नेता प्रतिपक्ष

सन् २००९ मा सुषमा स्वराज मध्य प्रदेशको विदिशा क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ आफ्नै राजनीतिक गुरु लालकृष्ण आडवाणीको ठाउँमा नेता प्रतिपक्ष बन्नुभयो । उहाँ सन् २०१४ सम्म नेता प्रतिपक्षको भूमिकामा हुनुहुन्थ्यो ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा उहाँ पुनः विदिशाबाट निर्वाचित हुनुभयो । उहाँ नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलमा विदेश मन्त्री बन्नुभयो ।

प्रखर तथा ओजस्वी वक्ता, प्रभावकारी पार्लियामेन्टेरिय तथा कुशल प्रशासकका रुपमा चिनिएकी सुषमा स्वराज एक समय अटल बिहारी वाजपेयीपछि सबैभन्दा लोकप्रिय वक्तामा रुपमा हुनुहुन्थ्यो ।

सुषमा स्वराज बीजेपीकी एक मात्र नेता हुनुहुन्छ, जो दक्षिण तथा उत्तर भारतबाट चुनाव लड्नुभयो ।

सात पटक सांसद, तीन पटक विधायक रहनुभएकी सुषमा दिल्लीको पाँचौ मुख्यमन्त्री, १५औँ लोकसभामा नेता प्रतिपक्ष, संसदीय मामिला मन्त्री, केन्द्रीय सूचना प्रसारण मन्त्री, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री तथा विदेश मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । 

ट्विटरमा सक्रिय

विदेश मन्त्रीको जिम्मेवारीमा रहँदा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय हुनुहुन्थ्यो । उहाँ आम भारतीय नागरिकका समस्याका लागि निरन्तर खट्ने गर्नुहुन्थ्यो । विदेशमा फसेका भारतीय नागरिकको उद्धार होस वा पासपोर्ट बनाउने काममा होस् उहाँको सक्रियता महत्वपूर्ण रह्यो ।

२९ सेप्टेम्बर २०१८ मा संयुक्त राष्ट्र संघमा दिएको उहाँको भाषणको निकै चर्चा भएको थियो । उहाँले यस भाषणमा संयुक्त राष्ट्र संघलाई परिवारको सिद्धान्तमा चलाउनु पर्ने बताउनुभयो । उहाँले यसै भाषणमा पाकिस्तानसँग धेरै पटक वार्ताको पहल र सुरुवात भए पनि उहाँको व्यवहारका कारण वार्ता रोकिएको बताउनु भएको थियो ।

विदेश मन्त्री रहेकै बेला उहाँको स्वास्थ्यमा समस्या आएको समाचार आएका थिए । २०१६ को नोभेम्बरमा उहाँले ट्वीटमाफर्त आफ्नो मिर्गौलामा समस्या भएको बताउनु भएको थियो । त्यसपछि उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसको दुई वर्षपछि नोभेम्बर २०१८ मा उहाँले सन् २०१९ को लोकसभा चुनाव नलड्ने घोषणा गर्नु भएको थियो । दुई दिनअघि मात्रै उहाँले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयप्रति ट्वीट गर्नु भएको थियो । 

उहाँले आफ्नो मृत्युअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै यस्तो ट्वीट गर्नु भएको थियो, ‘म आफ्नो जीवनमा यही दिन देख्नका लागि प्रतिक्षारत थिएँ ।’

यस्ताे छ नेपाल ‘कनेक्सन’

भारतीय विदेश मन्त्री सुषमा स्वराज विदेश मन्त्री हुँदा पटक–पटक नेपाल भ्रमणमा आउनुभएको छ ।  २०७४ को मसिंरमा भएको संसदीय चुनावपछि भारतीय विदेश मन्त्री सुषमा स्वराज माघ १८ गते नेपाल भ्रमणमा आउनु भएको थियो ।  

नेपालमा वामपन्थीको सरकार बन्ने तयारी भैरहँदा भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ ओर्लिएलगत्तै उहाँले भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट पनि गर्नुभयो ।

उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो ।

चुनावपछि बहुमत ल्याएको वाम गठबन्धनसँग सम्बन्ध सुधार र सहकार्य गर्नु उहाँको भ्रमणको उद्देश्य थियो ।  आउँदो सरकारसँग सहकार्य गर्न भारत तयार छ, भन्ने भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित स्वराज नेपाल आउनु भएको हो ।

नेपालको संविधान जारी भएपछि असन्तुष्ट जनाएको भारतले सम्बन्ध सुधार गर्ने संकेत गरेको यसबाट प्रष्ट हुन्छ । आफू अनुकुल संविधान जारी नभएको भन्दै भारतले ५ महिनाभन्दा बढी नाकाबन्दी गरेपछि दुई देशवीचको सम्बन्ध चिसिएको थियो ।

२०७२ असोज ३ गते संविधान जारी गर्नु भन्दा केही दिनअघि भारतले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा पठाएर आफू अनुकुल संविधान जारी गर्न दबाब दिएको थियो । तर नेपालका राजनीतिक दलहरुले भारतको दबाबलाई अस्वीकार गर्दै असोज ३ गते संविधान जारी गरेपछि सशंकित भएको भारतले ५ महिना भन्दा बढी नाकाबन्दी गर्यो । 

नाकाबन्दीको समयमा भारतप्रति कडा रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतले रुचाएको थिएन । नाकाबन्दीकै समयमा ओलीको नेतृत्वमा गठन भएको सरकारलाई भारतकै डिजाइनमा टिक्न नदिएको चर्चा चलेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा माओवादी र एमाले मिलेर बनेको वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपछि भारत ओलीप्रति नरम भएको संकेत यसअघि नै आइसकेको थियो । मोदीले टेलिफोन गरेर ओलीलाई भावी प्रधानमन्त्री भन्दै भ्रमणको निम्तो समेत दिइसक्नुभएको थियो ।

पोखरामा पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकारसँग भेट

यसअघि २०७२ साल चैत ४ गते पोखरामा सार्कस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्रीका रुपमा सुषमा स्वराज आउनु भएको थियो त्यस क्रममा पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सर्ताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तान भ्रणको लागि निम्ता पठाउनुभएको थियो ।

दुई देशको संयुक्त पत्रकार सम्मेलनमा सर्ताजले स्वराजलाई पाकिस्तान भ्रमणको निमन्त्रण कार्ड प्रदान गर्नुभएको हो । त्यसैगरी सार्कको ३८ औं मन्त्रीस्तरीय बैठकमा भाग लिनको लागि अजिजले भारतीय विदेशमन्त्री स्वराजलाई पनि निम्ता दिनुभएको थियो ।

सार्क बैठकमा सहभागी हुन आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिजबीच पोखरामा २४ घण्टाको अन्तरालमा तीन पटकसम्म वार्ता भएको थियो । 

दुई पक्षबीच बुधबार संक्षिप्त कुराकानी भए पनि कुनै पनि मुद्धामा कुराकानी भएको थिएन । बिहीबार बिहान पोखराको फिस्टेल लजमा भएको वार्तामा पठानकोट समस्याको बारेमा छलफल भएको थियो । त्यसपछि फेरि दिउँसो भएको वार्तामा पाकिस्तान प्रधानमन्त्रीको सल्लाहकार सर्ताज अजिजले पठानकोट आतंकवादी आक्रमणसहित सबै मुद्दामा छलफल गर्न पाकिस्तान तयार रहेको जानकारी गराउनुभएको थियो ।

विवादित टिप्पणी

भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराज नेपाली नागरिकका लागि भने त्यति लोकप्रिय नाम होइन । आफ्ना अभिव्यक्तिका कारण पटक–पटक उहाँ नेपाली नागरिकको निशानामा पर्नुभयो । विदेश मन्त्रीको जिम्मेवारी सम्हालेदेखि ७ पटक नेपालको भ्रमणमा आए पनि पटक–पटक उहाँ विवादित हुनुभयो ।

भारतले नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेको थियो । तर भारतीय संस्थापन पक्षले कहिल्यै पनि नाकाबन्दी भनेन । तत्कालीन विदेश मन्त्री स्वराजले पनि नेपालका मधेसी नागरिकले नै सीमामा गाडी रोकेको बताउनुभयो । भारतीय संसदमा प्रतिपक्षले उठाएको प्रश्नबारे उत्तर दिँदै उहाँले ‘नेपालमा नाकाबन्दी’ पहिलो पटक नभएको स्पष्टीकरण दिनु भएको थियो ।

त्यस्तै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौँ भारतीय प्रवासी नागरिकलाई जोड्ने काम गरेको भन्दै फेरि एक पटक विवादित टिप्पणी व्यक्त गर्नु भएको थियो ।

उहाँले भन्नु भएको थियो, ‘प्रधानमन्त्री नरेन्द्र मोदी आउनुअघि कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग यो मात्रामा कसैले कुरा गरेको थिएन । तर प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकादेखि जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गर्दै जोड्ने प्रयास गर्नु भएको थियो ।’

स्वराजको यो बयानप्रति धेरै नेपालीले विरोध जनाएपछि उहाँले माफी माग्नु भएको थियो । जनकपुर भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानमा सम्बोधन गर्नु भएको थियो । तर उहाँले भारतीय समुदायलाई सम्बोधन गर्नु भएको थिएन । उहाँले नेपाली समुदायलाई नै सम्बोधन गर्नु भएको थियो । जनकपुरका नागरिकलाई ‘भारतीय समुदाय’ भन्दै टिप्पणी गरेपछि उहाँको निकै आलोचना भएको थियो । 

अन्तिम अपडेट: मंसिर २६, २०७६

तपाईको प्रतिक्रिया