खानेपानी मन्त्री विना मगर र सचिवका कारण मेलम्चीको पानी पिउन पाइएन : कांग्रेस सांसद केसी

 साउन २२, २०७६ बुधबार १३:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीवासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दावी गर्नुभयो । 

उहाँले भन्नुभयो, 'काठमाण्डौजस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौँ । मन्त्रीज्यू यहाँ हुनुहुन्छ । म अत्यन्तै दु:खका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईको २० औँ वर्षको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी तपाईँका कारणले राजधानी पुग्न सकेन । मुखमा आएको गास सचिव र तपाईँका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन । मन्त्रीज्यू यसमा तपाईँ स्पष्ट हुनुहोस् । राजधानीवासी काकाकुल छन् ।'

एक गाग्री पानीका लागि अहिले पनि र्कीतिपुर नगरवासीहरु बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उहाँले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिनुभयो । 

सांसद केसीले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया