हेटौंडामा ६२ जना डेंगुका बिरामी भेटिए, नियन्त्रणको प्रयास हुँदै

 साउन २२, २०७६ बुधबार १८:१९:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र ६२ जना डेंगुका बिरामी फेला परेका छन् ।

चालु आर्थिक वर्षको साउन १ गते देखि साउन २२ गतेसम्ममा डेंगुका ६२ बिरामी फेला परेका हुन् । ती बिरामीमध्ये ३० जना सरकारी अस्पतालमा र अरु बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराउने क्रममा देखा परेकाहुन् ।

डेंगुका बिरामी देखा परेपछि चार दिनदेखि जनचेतना जगाउँदै डेंगुको संक्रमण हुने स्थान नष्ट गर्ने काम गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोल टोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्य शाखा प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।

विशेष गरी हेटौंडाको वडा नम्बर-४ क्षेत्रमा यसको संक्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोल टोलमा जमेका पानी हटाउने काम भइरहेको छ । 

यसैगरी हेटौंडा उपमहानगरपालिकाको बुधबारको कार्यपालिका बैठकले प्रत्येक वडामा डेंगु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने बासस्थान नष्ट गर्ने निर्णय गरिएको मेयर महतले बताउनुभयो ।

बुधबारै टोल विकास संस्था नगर समन्वय समितिसँगको अन्तरक्रियामार्फत पनि डेंगु नियन्त्रण लागि काम गर्ने निर्णय भएको छ । हेटौंडामा देखापरेको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको कार्कीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया