जुम्लाका सांसद महतलाई ऊर्जा मन्त्रीकाे जवाफ : आक्रोशमा नआइ ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो

 साउन २३, २०७६ बिहिबार १५:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युत्को वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उहाँले जुम्लामा विद्युत् आपूर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भएलगत्तै वैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दे नेपाल विद्युत् प्राधिकरणको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको ३ सय केभीए क्षमताको डिजेल जेनेरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताउनुभएको हो ।

जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिनुभएको थियो । उहाँले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गर्नुभएको थियो ।

मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने योजना सरकारले अघि बढाएको बताउनुभयो । जुम्लामा ३३ केभी प्रसारण लाइनका लागि यसै वर्ष दैलेख–जुम्ला ट्रान्समिसन लाइनका लागि टेण्डर भएर छनौट पनि भैसकेको भन्दै उहाँले २ वर्षभित्र प्रसारण लाइन बनिसक्ने बताउनुभयो ।  साथै यसै वर्षको बजेटमा कर्णाली प्रदेश, सुदूर पश्चिम र प्रदेश नम्बर २ को पूर्व विद्युतीकरणका लागि बजेटको व्यवस्था गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उहाँले हटलाइन सेवामार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लाण्ट विग्रेको जानकारी आफूले पाएको तर सांसद महतले आफूसँग भेट्न गरेको प्रयासबारे जानकारी नभएको स्पष्ट पार्नुभयो । उहाँले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानाकर्षण गराउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘जुन आवेगमा राख्नुभयो, त्यही उचाइको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो ।’

उहाँले जुम्लामा २४० किलोवाटको विद्युत् प्राधिकरणको प्लाण्ट रहेको र त्यो प्लाण्ट उपभोक्ताको सहभागितामा सञ्चालन हुँदै आएको स्पष्ट पार्नुभयो । साथै उहाँले उपभोक्ता समितिले नै आयोजनाको सञ्चालन मर्मत सम्भारसम्बन्धी सम्पूर्ण कामहरु गर्दे आएको र जुम्ला साना उपभोक्ता समितिको  म्याद २०७७ मंसिरसम्म रहेको जानकारी समेत गराउनुभयो ।

स्थानीय पूर्वाधार कोषमार्फत २६ लाख ४० हजार खर्च गरेर १ सय ६० किलोवाटको  डिजेल प्लाण्ट लगाएर जुम्लामा आपतकालीन विद्युत् आपूर्ति सुरु भएको मिडियामा सुन्न आएको भन्दै उहाँले सांसद महतलाई धन्यवाद पनि दिनुभयो ।

मन्त्री पुनलाई ४५ जना सांसदले प्रश्न गरेका थिए ।

याे पनि पढ्नुहाेस्

जुम्लाका सांसद महतको आरोप : कुलमान श्री ३ महाराज भैसके, कमिसन आउने ठाउँमा मात्रै काम गर्छन्

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया