स्याङ्जाबाट हतियार र विस्फोटक पदार्थसहित २ जना पक्राउ

 साउन २४, २०७६ शुक्रबार १५:१९:५५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिबन्धित सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।

भीरकोट नगरपालिका–९, का शिव दर्लामी र मोहन सिंजालीलाई प्रहरीले पक्रेकोे हो । उनीहरुबाट एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा गरेको आशंका प्रहरीले  उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियारसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा दर्लामीको दुईतले गोठ तथा धन्सारबाट लुकाइ राखेको हतियार बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट विभिन्न व्याक्तिलाई धम्काएर ५० लाख चन्दा मागेको १८ थान लेटर प्याडसमेत फेला परेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो ।

विप्लव समूहका दस्तावेज फेला परेको भन्दै प्रहरीले उनीहरुलाई विप्लव समूहकै कार्यकर्ता भएको अनुमान गरेको छ । यही हप्ता भीरकोट नगरपालिकाकै तीन जनाले विप्लव नेतृत्वको माओवादी पार्टी परित्याग गरेको भन्दै प्रेस विज्ञप्ति निकालेका थिए । 

अन्तिम अपडेट: फागुन २८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया