खाद्य वस्तुको विषादी परीक्षणका लागि सबै प्रदेशमा प्रयोगशाला स्थापना गरिने

 साउन २४, २०७६ शुक्रबार १८:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन् । 

खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले खाद्य वस्तुको विषादी परीक्षणका लागि एक/एक ओटा प्रयोगशाला स्थापना गर्ने योजना बनाइएको बताएका हुन् । 

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाण्डौमा चाडबाडको समयलाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा प्रदेश सरकारले आफ्नो योजना सार्वजनिक गरेको हो ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । 

विषादी परीक्षणका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरुको भनाइ छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य वस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौँडामा दूध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिनु भयो । उहाँले चाडबाडका समयमा बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोत, साधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य वस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिनु भयो । उहाँले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले कर्णाली खाद्यन्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

यस्तै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाडपर्वका बेला हुने मूल्य वृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्नुभयो । उहाँले चाडबाडका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले पनि चाँडबाँडको बेला उपभोक्तालाई मारमा नपार्ने गरी बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया