जम्मू-कश्मीरभन्दा भेनेजुएला नजिक !

 साउन २५, २०७६ शनिबार ८:२३:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

बेला न कुबेला भेनेजुएला भनेर चिच्याउने नेताजीको मुख जम्मू-कश्मीरमा जाम भएको देखेर उनका सहयोगीलाई साह्रै सकसक भयो । नेताजी गालामा हात लगाएर झोक्राइरहेको बेला सहयोगीले सोधे–हैन हजुर, जम्मू-कश्मीरबारे केही त बोल्नुपर्ने ।

‘जिम्मु कागती रे ! जिम्मु कागती हैन, सुनबारे बोलौं । सुनको भाउ बढेर सबैलाई फाइदा हुने भयो नि अब’ नेताजीले मेलो न मेसोको कुरा गरे ।

‘कहाँको जिम्मु कागती भन्या होला, मैले जम्मू-कश्मीर भनेको । अनि सुनको भाउ बढेर कसलाई के फाइदा हुन्छ ? झन् घाटा पो हुन्छ त हजुर’ नेताजीका सहयोगीले पनि जम्मू कश्मीरमा थोरै सुन मिसाए ।

नेताजीले तर्क गरे – ‘किन फाइदा छैन ? तीज आउँदैछ, भाउ नबढेको भए धेरैले सुन किन्थे । लसुन र नुन किन्ने पैसा सुन किन्नमै ठिक हुन्थ्यो । सुन खान मिल्छ ? मिल्दैन नि । भाउ बढेपछि कसैले सुन किन्न सक्दैन । अब सुनको सट्टा मान्छेले लसुन किन्छन्, नुन किन्छन्, नाना किन्छन् । खान पनि मिल्यो । लगाउन पनि मिल्यो । पैसा बच्ने भयो । अनि कसैले सुन नकिन्ने भएपछि सुनको तस्करी गर्नेहरु पनि चुप लाग्ने भए । न अर्को सुन काण्ड दोहोरिने भयो, न सुन किनेर नेपाली गरिब हुने भए । फाइदा नै फाइदा ।’

‘ल हजुरकै कुरा ठिक । तर सुनको कुरा छाडौं । जम्मू-कश्मीरबारे पनि बोलौं नेताजी’ सहयोगीले फेरि कर गरे ।

नेताजीले भुर्ईतिर हेरे । एकछिन घोरिए । अनि भने, ‘हैन कहाँ पर्छ यो, जम्मू कश्मीर ?’

‘ल नेताजी त्यति पनि थाहा छैन हजुरलाई ? हाम्रै छिमेकका ठाउँ हुन् नि’ सहयोगीले आश्चर्य प्रकट गर्दै ठाउँ चिनाए ।

‘हाम्रो छिमेकी त दिल्ली हो, कहिलेकाहीँ बेइजिङ पनि हो । अब यो जम्मू कश्मीरतिर गईंदैन पनि, त्यतातिर के हुँदैछ भनेर जानिंदैन पनि । त्यहाँ गएर पो के फाइदा, जानेर पो के फाइदा ? नजाने गाउँको बाटै नसोध्नु । दिल्लीतिरको कुरा भएको भए केही न केही बोल्नुपर्थ्यो । जाने बाटो भनेर सोध्नु पर्थ्याे । तर यो त्यति मेसो नपर्ने ठाउँ जम्मू-कश्मीरबारे चुप लाग्नु नै बेस । त्यसैले जेसुकै होओस् नबोल्ने । दिल्लीको दिल नदुखाउने’ नेताले एकै सासमा सबैथोक भनेर सिध्याए ।

‘तर त्यति टाढाको भेनेजुएलाको बारेमा त बोल्नुभयो, बेला न कुबेला भेनेजुएलाचाहिँ बोल्ने अहिले जम्मू-कश्मीरमा चाहिँ किन चाउरिएर चुप बसेको भनेर धेरैले सोधेका छन् हजुर । भेनेजुएलाभन्दा त जम्मू-कश्मिर नजिक हो नि । टाढाको कुरा थाहा पाउनेले नजिकको कुरा थाहा नपाएजसरी बस्दा त लाज हुन्छ हजुर, केही त बोलौं’ सहयोगीले त्यत्तिकै छाडेनन् ।

‘कसरी भेनेजुएला टाढा भयो ? कसरी जम्मू-कश्मीर नजिक भयो ? तिमीलाई हिसाब गर्न आउँदैन’ नेताजीको कुरा सुनेर सहयोगी एकछिन जिल खाए । 

‘हैन हजुर भेनेजुएलाभन्दा त जम्मू-कश्मीर नै नजिक हो, के भन्नुभएको हजुरले ?’ सहयोगीले नक्सा पल्टाए ।

‘ल तिमीलाई थाहा रहेनछ । म भन्छु कुन नजिक र कुन टाढा भनेर, ल सुन’ नेताजीले आफ्नो तर्कको अघिल्तिर कु थपेर बेलिबिस्तार लगाए – ‘हाम्रो देशको नाम के हो ? नेपाल । नेपालको अघिल्तिरको अक्षर न । भेनेजुएलाको अघिल्तिरको अक्षर भ । अनि जम्मू-कश्मीरको अघिल्तिरको अक्षर ज र क । अब न बाट भ, अनि न बाट क र ज को दूरी नाप’ नेताजीले क देखि ज्ञ सम्म लेखिएको वर्णमाला खोजेर पाना पल्टाए । 

अनि जिल्ल परेका सहयोगीलाई देखाउँदै फेरि भने – ‘ल हेर यहाँ । नेपालको न बाट अगाडि बढ्दा प, फ, ब अनि भ..भेनेजुएला उतिखेरै आयो । अब न बाट पछि फर्कंदा ध, द, थ, त, ण.....हुँदै जम्मूको ज...अनि कश्मीरको क आउन त कहाँ हो कहाँ । ल आफै भन नेपालको न बाट भेनेजुएलाको भ टाढा भयो कि जम्मूको ज र कश्मीरको क ?’

नेताजीको कुतर्क सुनेर सहयोगी भाउन्न हुन खोजिसकेका थिए । तै पनि सम्हालिंदै भने – ‘तर हजुर भूगोलको हिसाबले त भेनेजुएलाभन्दा जम्मू काश्मीर नजिक हो नि ? यहाँ नक्सा हेर्नुस् न यी ।’

फेरि नेता बोले – ‘अहिलेको जमानामा पनि नक्सामा, भूगोलमा अल्झिएर हुन्छ ? नयाँ प्रविधिले विश्वलाई साँघुरो बनाइसक्यो भन्ने थाहा छैन तिमीलाई ? भूगोलको हैन, अक्षर र प्रविधिको कुरा गर्नुपर्छ । अक्षरको हिसाबले पनि नेपालको लागि जम्मू कश्मीरभन्दा भेनेजुएलानजिक । अनि सुविधा र सप्ठ्यारोको हिसाबले पनि उतै नजिक । त्यसैले उबेला भेनेजुयलामा उतिखेरै बोलियो । अब जम्मू कश्मीरमा अझै बोलिंदैन ।.....’

नेताजीले कुतर्कको बिट मार्न खोज्दै थिए । सहयोगी अघि नै टाप कसिसकेछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया