अरुण गाउँपालिकाकाे याकु बन्याे प्रदेशकै पहिलाे पूर्ण संस्थागत प्रसूति वडा

 साउन २५, २०७६ शनिबार १६:४८:३४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – अरुण गाउँपालिका वडा नम्बर-५ को याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । 

याकुका सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराउने गरेकाले वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो । पहिलेको याकु गाविसलाई संविधान सभाका पूर्व सदस्य लोकमणि ढकालले प्रदेश नम्बर १ को पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्नुभएको हो । 

आर्थिक वर्ष २०७५/७६ मा भोजपुरका ६१ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको याकु स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिस्टेन्ट भोजराज भण्डारीले बताउनुभयो । त्यसमा पनि अरुण गाउँपालिका वडा नम्बर-५ भित्रका ३७ जना गर्भवतीमध्ये ३६ जनाले याकु स्वास्थ्य चौकीमा र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए । 

अरुण गाउँपालिका क्षेत्रका महिला तथा बच्चाहरुको स्वास्थ्य सुरक्षाको लागि विशेष योजना बनाएर काम गर्ने अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताउनुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो र रकमसहितको प्याकेज पनि दिँदै आइरहेको अध्यक्ष कार्कीले बताउनुभयो । 

स्वास्थ्य चौकीमा दक्ष जनशक्ति, भौतिक सुविधालगायतका उपचारमा चाहिने सामग्रीको पर्याप्तताका कारण गएको १० वर्षभन्दा बढी समयदेखि भोजपुरको याकुमा रहेको स्वास्थ्य संस्था जिल्लामै नमुना स्वास्थ्य संस्थाको रुपमा परिचित छ । यो स्वास्थ्य संस्थाले पटक–पटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ । 

आफ्नो वडा बाहेकका पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ र ३ बाट पनि उपचार सेवा लिन बिरामीहरु आउने गरेको स्वास्थ्य संस्थाले जनाएको छ ।

स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको जनशक्ति, विशेष प्रसूति तालिम लिएका २ जना स्वास्थ्यकर्मी, गर्भवतीको विशेष जाँचको लागि भिडियो एक्सरे मेसिन, बच्चा जन्मिएपछि तातोमा राख्ने मेसिन, अक्सिजन लगायतका साधनहरु पर्याप्त भएकाले पनि सेवाग्राहीहरुको आकर्षण बढेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष ध्यानबहादुर राई बताउनु हुन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया