नगरपालिकाले निःशुल्क दिएका जर्सी गाईमा रोग भेटियो

 साउन २६, २०७६ आइतबार १७:१५:१२ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर-४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरेका गाईमा रोग देखिएको छ । 

केही दिन अघि सात जना कृषकलाई पूर्ण अनुदानमा उपलब्ध गराइएका जर्सी गाईले भने जति दूध दिनुको साटो मर्न थालेपछि किसानहरु हैरान भएका छन् ।

स्थानीय दिलबहादुर कठायतले भन्नुभयो, ‘एउटै गाईले २० लिटर दूध दिन्छ भनेर हामीलाई दिए, बूढी गाई फेला पर्‍यो, गाईले दूध दिनुको साटो बिरामी पर्न थालेपछि हामी त हैरान भयौँ ।’

‘जर्सी गाई पायौँ, दूध बेचेर आम्दानी गरौँला भनेको त उल्टै गाई बिरामी परे, औषधि गर्दैमा पैसा सकिने भयो’, दिलबहादुरले भन्नुभयो । अधिकांश किसानले नगरपालिकाबाट गाई बुझेकै दिनदेखि गाई बिरामी परेको बताएका छन्, केही गाईको पाठेघर कुँहिएको छ । 

‘बेलाबेला पछाडिको भागबाट किरासहितको पीप खस्छ, जसले घर नै गन्हाउँछ’, अर्का किसान तथा ‘तेडी निमउने’ गाईपालन समूहका अध्यक्ष हिरा कठायतले भन्नुभयो, ‘कुन ठाउँका रोगी गाई हामीलाई भिडाए, घाउ गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ ।’ 

नगरपालिकाले टेण्डर आह्वान गरेर एउटा गाईकाे ७५ हजार रुपैयाँका दरले नगरक्षेत्रका २० जना किसानलाई हस्तान्तरण गरेको पशु सेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले टेण्डर आह्वान गरेर कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैँसीपालन फार्मबाट गाई आयात गरिएको हो । मैले गाई राम्रै आएको जानकारी पाएको छु, अहिले के भयो थाहा भएन ।’

जर्सी गाई भनेर वितरण गरिएका गाईहरु शत प्रतिशत जर्सी भएको र क्रस तथा होलेस्टेन जातका गाईहरु रहेको जानकारहरु बताउँछन् । किसानलाई वितरण गरिएका गाईको मूल्य १५ लाख रुपैयाँ हुन आउँछ । किसानहरुको स्याहारसुसार र गोठ व्यवस्थापन नमिलेकोले गाईहरु बिरामी परेको र दूध नदिने समस्या भएको हुन सक्ने पशु सेवा इकाइका अधिकृत डिलबहादुर साउद बताउनुहुन्छ । 

नगरपालिकाले वितरण गरेको गाईमध्ये एउटा गाईको बाच्छो मरेको किसानहरुले बताएका छन् । उता टेण्डर प्रक्रियाबाट गाई हस्तान्तरण गरेको सिद्धबाबा गाईभैँसी फर्मका सञ्चालक हिरासिंंह विष्टले नगरपालिकाको सम्झौता अनुसारकै गाई पठाइएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नगरपालिकाको माग अनुसारका गाईहरु भारतको बरेली र हरियाणाबाट झिकाइएको हो । अहिले त्यहाँ के भयो, मलाई थाहा भएन ।’

दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष वीरेन्द्र शाहले जर्सी गाईहरुमा देखिएको समस्या तत्काल नगरपालिकामा राख्ने बताउनु भयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया