मुख्यमन्त्री पौडेलकाे बाेलीमा राजधानी: काठमाण्डाैमा बाेल्दा सार्न मिल्ने, हेटाैंडामा बाेल्दा नमिल्ने

 साउन २६, २०७६ आइतबार १७:२४:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने र पूर्व पस्चिम राजमार्ग अन्तरगत हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी हेटौंडाबाट सार्न नदिने बताउनुभयो । 
प्रदेशका ९० प्रतिशतभन्दा बढी सांसदहरु हेटौंडाबाट राजधानी सार्ने पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘१८ महिनासम्म हेटौंडामा राजधानी राख्नको लागि मेरो महत्वपूर्ण भूमिका छ । मेरो भूमिका नभएको भए प्रदेश सभाको पहिलो, दोस्रो बैठकमा नै राजधानी सरिसक्थ्यो । त्यसैले काठमाण्डाै उपत्यका वरपर राजधानी हुनै सक्दैन, हेटौंडाको विकल्प छैन ।’

तर गएकाे बिहीबार काठमाण्डाैमा बाेल्दा भने उहाँले राजधानी रामेछाप वा नुवाकाेट जहाँ लगे पनि हुन्छ, हेटाैंडा नै हुनु पर्छ भन्ने छैन भन्ने अभिव्यक्ति दिनुभएकाे छ ।

 

हेटौंडामा राजमार्गको दायाँबायाँ २५ मिटर सडक नभत्कने पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिलेको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्रीपौडेलले भन्नुभयो, ‘राजमार्ग कुनै पनिशहरको बीचबाट जानै सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्नँ । हिजो पनि मैले यही बोली बोलेको हुँ र भोलि पनि यही बोल्छु ।’

हेटौंडा बजार क्षेत्रको रातोमाटेदेखि चौकिटोल सम्मबजार क्षेत्रका घरहरु भत्किएमा कस्तो होला? भन्दै उहाँले२५ मिटर पछाडि घर भएकाहरुले सडकमा घर आईपुग्छ भनेर सपना नदेख्न आग्रह गर्नुभयो । 

हेटौंडा बजार क्षेत्रमा सडकको दायाँबायाँ १६–१६ मिटर मात्र सडक भत्कने बताउँदै उहाँले भन्नुभयो, ‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटरमा सबै भत्कlन्छ । पहिले मै घर भत्काउँछु । त्यसपछि बाइपास सडक पनि बनाइन्छ । बाइपासका लागि प्रदेश सरकारले ठूलो बजेट छुट्याएको छ ।’

नगरवासीको स्वार्थका कारण २५ मिटरको सट्टामा १६ मिटर मात्र सडक बिस्तार गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया