अख्तियार प्रमुखलाई '२ सय वर्ष बाँच्नुहाेस्' भन्दै आत्महत्या

 साउन २७, २०७६ सोमबार १३:२६:२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – त्रियुगा नगरपालिका वडा नम्बर १० का एक जना पूर्व कर्मचारीले 'सुसाइड नाेट' लेखेर आत्महत्या गर्नु भएकाे छ ।  

शनिबार रातिदेखि सम्पर्कविहीन रहनु भएका त्रियुगाका ५५ वर्षीय पूर्व नायब सुब्बा हरिप्रसाद आर्चायको शव झुण्डिएकाे आइतबार बिहान नजिकैको जंगलमा फेला परेको हो । आचार्यले लगाएको टी–सर्टको गोजीमा 'सुसाइड नाेट' फेला परेको छ । 

‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टाचारी भएँ, अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ’, 'सुसाइड नाेट' मा लेखिएकाे छ ।

‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ, सकिनँ, पापी भएँ । वाणिज्य, नेपाल, एनसीसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ', उहाँले लेख्नु भएकाे छ, ‘विरेन्द्र काकालगायत छिमेकीले भैँसी, खसी तह लगाइदिनु । आमाको साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु ।'

उहाँले पूर्व गाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालाय झापामा काम गर्नु भएको थियो । उहाँ झापाबाट मालपोत कार्यालय कलंकी हुँदै समायोजनमा त्रियुगा नगरपालिका पुग्नु भएको थियो । त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवको रुपमा काम गर्नु भएका आचार्य वडा अध्यक्षसँग विवाद भएपछि राजीनामा दिएर घर बस्नु भएको थियो ।

मालपोत कार्यालय कलंकीमा कार्यरत रहँदा उहाँसहित सात जनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियार प्रमुखको नाममा दुई पानाको 'सुसाइड नाेट' लेखेको पत्र प्रहरीले फेला पारेकाले भ्रष्टाचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

यस्ताे छ 'सुसाइड नाेट'

आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिनँ, कामबाट चोखिने काम मात्र गर्नू, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ । ममीले छोराहरुसँग र सासूसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नू । म बिदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन, साथीभाइले मनैले सहयोग गर्नू, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नू ।

सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौ बस्नु, गोमाले रंंगीन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनू ।

नेपाल निजामती कर्मचारी संगठन उदयपुरका पूर्व कोषाध्यक्ष समेत रहनु भएका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरी दिनु होला ।

साथै २५ गते बेलुका ६ बजे 'सुसाइड नाेट' लेखी घरबाट बाहिरिनु भएका आचार्यले अन्त्यमा भैँसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरी दिन आफन्तहरुसँग आग्रह गर्नु भएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया