युुुुरोप पठाउने भन्दै अवैध अन्तर्वार्ता लिने कन्सल्टेन्सीमा विभागको छापा

 साउन २७, २०७६ सोमबार १९:१७:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सिनामंगलमा रहेको अलायन्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले यूरोप पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको पाइएको छ ।

कन्सल्टेन्सीले सामाजिक सञ्जालमा युरोपका विभिन्न पदका लागि विज्ञापन गरी अन्तर्वार्ता लिइरहेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले गौशला प्रहरीको सहयोगमा शनिबार आकस्मिक अनुगमन गर्दा अवैध रुपमा अन्तर्वार्ता लिइरहेको पाइएको हो ।

अनुगमनको क्रममा कन्सल्टेन्सीबाट साइप्रस जानका लागि आवेदन दिएका फाइल र पासपोर्ट स्क्यान कपी, कामदार भिषा र यूरोपका विभिन्न देशमा कामदार भिषामा पठाएकाहरुको विवरणसमेत भेटिएको विभागले जनाएको छ ।

अनुगमन टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सी.पी.यू. जफत गरेको छ । कन्सल्टेन्सीका सञ्चालक सुजित कुमार श्रेष्ठलाई आवश्यक बयानको लागि उपस्थित हुन पत्र काटिएको पनि विभागले जनाएको छ ।

पछिल्ला दिनमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर मोटो रकम लिई नियम विपरीत विभिन्न देशमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा परेको विभाग महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने बताएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया