पवन चाम्लिङको राजनीतिक भविष्य खतरामा, पार्टीका १० विधायक बीजेपीमा

 साउन २८, २०७६ मंगलबार १६:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) का १० जना विधायक भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेका छन् ।

सिक्किम राज्यको विधानसभामा एक सिट पनि नजितेको बीजेपी अब प्रमुख प्रतिपक्ष दल बनेको छ ।

एसडीएफबाट गएको विधानसभा चुनाव जितेका १० जना विधायक बीजेपीका कार्यकारी अध्यक्ष जेपी नड्डा र बीजेपीका महासचिव तथा उत्तर पूर्वी राज्यका इञ्चार्ज राम माधवको उपस्थितिमा बीजेपीमा प्रवेश गरेका हुन् । 

एउटा पार्टीका दुई तिहाई तथा त्यसभन्दा बढी विधायक नयाँ पार्टीमा प्रवेश गर्दा एन्टी डिफेक्सन कानुनको उल्लंघन हुँदैन । त्यसैले बीजेपीले सिक्किममा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने देखिन्छ ।

पार्टीका अधिकांश विधायक बीजेपीमा प्रवेश गरेसँगै सिक्किममा २५ वर्ष सरकार चलाएका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको राजनीतिक भविष्यमा धक्का पुगेको छ । 

३२ सिट रहेको सिक्किम विधानसभामा चाम्लिङ नेतृत्वको एसडीएफले १५ सिट जितेको थियो । त्यस्तै पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेको थियो । एसडीएफका दुई जना विधायकले दुई ठाउँबाट चुनाव जितेका थिए । उनीहरुले एक सिटबाट राजीनामा दिएका छन् । बाँकी रहेका १३ विधायकमध्ये १० जना बीजेपीमा प्रवेश गरेसँगै एसडीएफमा अब ३ विधायक बाँकी रहेका छन् ।

बीजेपी प्रवेश गर्नेहरुमा चाम्लिङ नेतृत्वको सरकारमा तीन पटक मन्त्री बनेका तथा पाँच कार्यकालका लागि विधायक बनेका दोर्जी छिरिङ लेप्चासमेत रहेका छन् । त्यस्तै तीन पटक विधायक बनेको उगेन ग्यात्सो पनि बीजेपीमा प्रवेश गरेका छन् ।

बीजेपीमा प्रवेश गरेका लेप्चा आफूहरु प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लूक इस्ट’ नीतिबाट प्रभावित भएको बताएका छन् । उनले भने, ‘हामी सिक्किममा कमल फुलाउन चाहन्छौँ ।’

बीजेपीलाई मुख्य चुनौती भनेको अब हुने उपचुनावमा तीन सिटमा कस्तो प्रदर्शन गर्छ भन्ने हो । सिक्किमको पछिल्लो राजनीतिक घटनाक्रमलाई केही सिक्किमेली नागरिकले आफूहरुसँग धोका भएको बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया