निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन वैदेशिक लगानी नजुटे सरकार आफैले लगानी गर्ने

 साउन २८, २०७६ मंगलबार १८:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताउनुभयो ।

उहाँले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताउनुभयो । वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताउनु भयो ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताउनुभयो । समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिनुभयो । नेपाली प्राविधिकहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणअघि त्यस क्षेत्रको बस्तीलाई व्यवस्थित गरिने पनि बताउनु भयो । विस्थापित हुने सबै नेपाली दाजुभाइ नै भएकोले अन्याय नहुने गरी व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिँदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताउनुभयो । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ ।

निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया