सोलुदूधकुण्ड नगरपालिकाले बनायो एकै वर्षमा ४ ओटा पुल

 साउन २९, २०७६ बुधबार १२:४७:३४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले एक वर्षभित्र चार ठाउँमा 'मोटरेबल' (सवारीसाधन हिँड्न योग्य) पुल निर्माण गरेको छ । 

देशका विभिन्न ठाउँमा वर्षाैँसम्म पनि मोटरेबल पुल बन्न नसकेर अलपत्र अवस्था रहेको भन्ने समाचार आइरहेको बेला सोलुदूधकुण्ड नगरपालिकाले आफ्नै लगानीमा एक वर्षमै चार ओटा मोटरेबल पुल बनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ भित्र लोदिङ खोला, बेनी खोला, सोलनासा खोला र खोरियामा गरी चार ओटा ठाउँमा पुल निर्माण गरेको हो । 

लोदिङ खोलामा पुल   

गाउँगाउँमा सडक पुगे पनि वर्षायाममा पुल नहुँदा आवतजावत नै ठप्प हुने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले एकै वर्ष चार ओटा मोटरेबल पुल निर्माण गरेको हो । पुल बनेपछि अब बाह्रै महिना आवतजावत गर्न पाइने भयो भन्दै स्थानीयहरु खुशी भएका छन् । पुल बनेसँगै सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको ज्यालामाई देवीको मन्दिर आउने भक्तजनलाई समेत सहज हुने भएको छ । 

आर्थिक वर्ष २०७५/७६ को बजेटबाट नगरपालिकाले तीन ओटा बेलिब्रिज र एउटा पक्की पुल निर्माण गरेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुदूधकण्ड नगरपालिका– ३ तामाखानीको लोदिङ खोलामा एक करोड ६६ लाख २६ हजार रुपैयाँको लागतमा बेलिब्रिज निर्माण गरिएको छ । 

तामाखानीका टेकबहादुर मगरले भन्नुभयो, ‘खोलामा पुल नहुँदा खोलासम्म गाडीमा समान ल्यायो, त्यसपछि बोकेर लानुपर्ने बाध्यता थियो । अब तामाखानीमा धार्मिक पर्यटकको संख्यामासमेत वृद्धि हुनेछ । त्यस्तै सुन्दर पर्यटकीय क्षेत्र पिकेडाँडामा आवतजावत गर्न तथा लिखुपिके क्षेत्रबाट सल्लेरी ओहोरदोहोर गर्नलाई पनि सहज हुन्छ ।' 

बेनी खोलमा बेलिब्रिज   

सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर २ मा रहेको बेनी खोलामा एक करोड ४२ लाख रुपैयाँको लागतमा २१ मिटर लम्बाइ र १० फिट चौडाइ भएको बेलिब्रिज निर्माण गरिएको छ । पुल निर्माणपछि वर्षाको समयमा सवारी आवागमन अवरुद्ध हुने समस्या समाधान भएको स्थानीयहरु बताउँछन् । 

बेनी खोलाको बेलिब्रिज बनेपछि पर्यटकीय क्षेत्र जुनबेसी, तिब्बतीयन क्याम्प, फुङबुचे लगायतका ठाउँ र लिखुपिके गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ ।

गोराखानी र टाप्टिङको बीचमा रहेको सोलनासा खोलामा बेलिब्रिज

सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ९ र १० लाई जोड्ने गोराखानी र टाप्टिङको बीचमा रहेको सोलनासा खोलामा पनि बेलिब्रिज निर्माण भएको छ । नगरपालिकाको एक करोड ६२ लाख ६६ हजार रुपैयाँको लागतमा बेलिब्रिज निर्माण भएपछि दुर्गम गाउँलार्ई सुगम स्थानसँग जोडेको स्थानीयले प्रतिक्रिया दिएका छन् । 

पुल बनेपछि खुशी हुँदै सोलुदूधकुण्ड नगरपालिका– ९ गोराखानीका वडाध्यक्ष काजी शेर्पाले भन्नुभयो, ‘बेलिब्रिजले टाप्टिङ जन्तरधाप सडकमा सिधा यातायात जोडिदिएको छ । सदरमुकाम आवतजावत गर्न तथा बिरामी हुँदा एम्बुलेन्सबाट अस्पतालसम्म लैजान सहज हुने भएको छ । त्यस्तै स्थानीय उत्पादनलाई बजारमा सजिलै पुर्‍याउन सकिने छ ।'

खोरियामा मोटरेबल पुल

त्यस्तै, सोलुदूधकुण्ड नगरपालिकाको वडा नं. ६ खोरियाको सोलु खोलामा काम थालेको १० महिनामै मोटरेबल पुल बनेको छ ।

नगरपालिकाकोे नेतृत्वमा अपरसोलु हाइड्रो पावर र जिल्ला समन्वय समितिको झण्डै पाँच करोड रुपैयाँको संयुक्त लगानीमा सिई कन्स्ट्रक्सनले ७५ टन भारवहन क्षमताको ३० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । मोटरेबल पुलको निर्माणले वर्षामा सिस्नेरी पहिरोले हैरानी दिइरहेको बेलीडाँडा–साल्मे सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने खोरिया–बाघखोर सडक सञ्चालनको बाटो खोलेको छ ।

नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणले नगर समृृद्धिको यात्रामा अघि बढिरहेको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘यो वर्ष पनि शालाबेसी, रोसी, सिसा र हेवा खोलामा बेलिब्रिज निर्माण सक्ने गरी काम हुँदैछ, पुल र सडक नै समृद्धिको दरिलो आधार हो ।’ 

मेयर शेर्पाले विकास निर्माण, पारदर्शिता, सुशासन र जवाफदेहिताको हिसाबले सोलुदूधकुण्ड नगरपालिका अन्य पालिकाको तुलनामा अग्रस्थानमा रहेको दावी गर्नुभयो । पुल निर्माणबाट कृषि र तल्लो सोलुको पर्यटनको विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

पुलको उद्घाटन गर्दै मेयर शेर्पाले आफू निर्वाचित भएपछि नगरपालिकाभित्रका सबै विकास निर्माणका काम तोकिएको समयभित्र सकिएको दाबी गर्दै विकास निर्माणका काममा आफू चनाखो रहेको बताउनु भयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया