अझै सामान्य भएन कश्मीरकाे जनजीवन : फाेनमा २ मिनेट बाेल्न २ घण्टाकाे लाइन

 साउन २९, २०७६ बुधबार १३:२६:२५ | एजेन्सी
unn.prixa.net

कश्मीरमा फोनमा केवल दुई मिनेट कुरा गर्नको लागि मानिसहरु झण्डै दुई घण्टासम्म लाइनमा बसिरहेका छन् । यहाँको उपायुक्त कार्यालयको बाहिर लाइनमा लागेको कैंयौ कश्मीरीहरु यही अवस्थासँग गुज्रिरहेका छन् । 

कश्मीरका बासिन्दाहरु कश्मीर बाहिर रहेका आफ्ना परिवारका सदस्यहरुसँग कुरा गर्नको लागि निकै उत्सुकताका साथ लाइनमा उभिएको देख्न सकिन्थ्यो । हतार–हतार सबै कुरा भन्न खोजिरहेका कश्मीरीका लागि दुई मिनेट समय निकै कमजस्तै देखिन्थ्यो । 

जम्मू कश्मीरलाई विशेष राज्यकाे दर्जा दिने धारा ३७० को प्रावधानलाई खारेज गर्ने र राज्यलाई दुई केन्द्रशासित प्रदेश–जम्मू कश्मीर र लद्दाखमा विभाजित गर्ने केन्द्र सरकारको घोषणापछि गएको ५ अगष्टदेखि कश्मीरमा सञ्चार सेवा बन्द छ । केबल नेटवर्कको समाचार च्यानल पनि बन्द गरिएको छ । 

फोन र इन्टरनेट सेवा बन्द गरिएको एक हप्ताबढी बितिसक्दा कश्मीरवासीहरुमा निराशा बढ्दै गैरहेको छ । 

उपायुक्त कार्यालयमा सर्वसाधारणका लागि सरकारले प्रदान गरेको फोन लाइनमा कुरा गर्न मारुफा भटले दुई घण्टा कुरिन् र दिल्लीमा रहेकी आफ्नी बहिनीसँग कुरा गर्न सकिन् । उनले फोनमा भनिन्, ‘हेलो, के तिमी ठिक छौ ?’ यति भनिसकेपछि उनी डाँको छोडेर रुन लागिन् ।' 

एक वर्षको छोरो काखमा लिएकी मारुफाले भनिन्, ‘भर्खर मात्रै मेरो बुवाको दिल्लीमा हर्ट बाइपास सर्जरी गरिएको छ । हामी केही दिनअघि मात्र फर्किएका हौँ र औषधि पनि सकिने क्रममा छ । यही कारण मैले दिल्लीमा रहेकी आफ्नी बहिनीलाई सम्पर्क गर्नु परेको हो ।’

परिवारमा कसैको निधन हुनु, कारोबार, लेन–देन, परीक्षा...लगायत फोन गर्नुपर्ने निकै कारणहरु रहेका छन् । 

मोहम्मद अशरफ आफ्ना छोरा हमससँग कुरा गर्दैगर्दा रुन पुगे । हमसका हजुरबुवाको पाँच दिन अघि निधन भएको थियो र अशरफले मंगलबार मात्र यो खबर छोरासम्म पुर्‍याउन सके । 

मारुफा र अशरफजस्ता कैंयौ कश्मीरवासीको यस्तै गुनासो सुन्न सकिन्थ्यो । सुरक्षा अधिकारीहरुका अनुसार सुरक्षाका कारण सञ्चार र सम्पर्क बन्द गर्न परेको हो । 

एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘हर किसिमको अफवाह फैलाउन र घटनालाई गलत ढंगले व्याख्या गर्न सञ्चार सेवाको प्रयोग गर्ने गरिएको छ ।’

परीक्षा फर्म भर्नको लागि चण्डीगढमा आफ्ना नातेदारसँग कुरा गर्न खोजिरहेका अरसलान वानीले भने, ‘मलाई मेरो फोन बजेको सपना आउँछ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया