पाकिस्तानी कश्मीर भ्रमणमा इमरान खान

 साउन २९, २०७६ बुधबार १४:५६:५५ | रासस
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका छन् । पाकिस्तानी स्वतन्त्रता दिवसकाे अवसरमा प्रधानमन्त्री खानले पाकिस्तान प्रशासित कश्मीरकाे भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री खानले कश्मीर भ्रमणपश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । खानले आजाद जम्मू-कश्मीरकाे विधानसभामा समेत सम्बाेधन गर्ने कार्यक्रम रहेकाे पाकिस्तानी सञ्चार माध्यम डनले जनाएकाे छ ।

भारत सरकारले भारत प्रशासित जम्मू-कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै देशबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

यसैसाताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए । 

अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई देशको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया