रसुवागढी नाकामा ‘जोइन्ट कमान्डिङ सेन्टर’ स्थापना गर्न चिनियाँ पक्षको आग्रह

 साउन २९, २०७६ बुधबार १९:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकामा ‘जोइन्ट कमान्डिङ सेन्टर’ छिटै स्थापना गर्न चिनियाँ पक्षले आग्रह गरेको छ ।

नाकामा अवैध गतिविधि, मानव बेचबिखन तथा लागुऔषधको ओसारपसार न्यूनीकरण गर्नका लागि यसको स्थापना गर्न आवश्यक रहेको चीनमा रहेकाे केरुङ सीमा तथा अध्यागमन प्रशासनले जनाएको छ । 

चीनमा रहेकाे केरुङ पोर्टमा बुधबार बसेको दुई पक्षीय ‘काउन्टर पार्ट’ बैठकमा चिनियाँ टोलीले यसबारे चासो देखाएका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । ‘हामीले गएकाे असारदेखि प्रक्रिया अघि बढाएका थियौँ’, उहाँले भन्नुभयो, ‘सेन्टर स्थापना गर्न मन्त्रालयमा पत्र पठाएका छौँ ।’

सेन्टरले नाकामा देखिएका समस्याको समाधान गर्ने, नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना सङ्कलन गर्ने, दुई देशबीच समन्वय गर्ने तथा आ–आफ्नो निकायमा रिपोर्टिङ गर्ने काम गर्नेछन् ।

साथै चिनियाँ टोलीले नाकामा रहेका प्रहरीलाई मजबुत बनाउनका लागि ११ प्रकारका सामग्री हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच चिनियाँ प्रशासनका स्टेसन मास्टर गाओ हु हाइ र रसुवाका प्रजिअ भण्डारीले हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
     

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया