मुख्यमन्त्री शाहीको कार्यक्रमस्थल नजिकै बम विस्फोट

 साउन २९, २०७६ बुधबार २०:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – गृहजिल्ला कालिकोटको भ्रमणमा रहनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै बुधबार बम विस्फोट गराइएको छ ।

गृहजिल्ला कालिकोटको पचालझरना गाउँपालिकाले आयोजना गरेको गाउँसभालाई सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको हो ।कार्यक्रमस्थल भन्दा केही पर दुई पटक विस्फोटको आवाज सुनिएको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिनुभयो ।  

विस्फोटबाट कुनै मानवीय क्षति नभएको भए पनि मुख्यमन्त्रीको टोलीलाई तर्साउने नियतले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्रीको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समूहले बम विस्फोट गराएको स्वकीय सचिव सिंहले बताउनुभयो ।

विस्फोटबाट मुख्यमन्त्रीको पूर्वनिर्धारित कुनै पनि कार्यक्रम परिवर्तन नभएको र सबै कार्यक्रम सहज रुपमा अघि बढ्ने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिनुभयो । 

मुख्यमन्त्री शाही गृहजिल्ला गएको बेला यसअघि पनि बम विस्फोट गराइएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया