क्वाँटी खानुका फाइदा

 साउन ३०, २०७६ बिहिबार ११:३७:४९ | विना न्याैपाने
unn.prixa.net

क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो ।

नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । गेडागुडीलाई टुसा उम्रनेग री पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

क्वाँटी खानुका फाइदा 

वर्षायामसँगै सिजन परिवर्तन हुँदैछ  । साउनमा धेरै जनाले माछामासु नखाने भएकाले पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पूरा गर्न यो खानैपर्ने हुन्छ । 

–रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।
–पाचनशक्तिमा सुधार आउँछ ।
–मधुमेह नियन्त्रणमा सहयोग गर्छ । तर मधुमेह भएकाले डाइटिसियनसँग सल्लाह लिन आवश्यक हुन्छ ।
–उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
–कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
–रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
–बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन ।
–स्मरणशक्ति वृद्धि गराउँछ ।

क्वाँटीमा के के पाइन्छ ?

वृहत पोषक तत्वहरुमा : कार्बाेहाईड्रेड, प्रोटिन र फाईबर पाइन्छ ।
सुष्म पोषक तत्वमा : पोेटासियम, फस्फोरस, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट पाइने भएकाले आज एक दिन मात्रै नभएर हरेक समयमा खानुपर्छ ।

धेरै खायो भने गर्ने असर :

पाचन शक्तिमा समस्या आउँछ । 
पेटबाट ग्याँस धेरै निस्किन्छ । 
कुपोषित व्यक्तिले खाएमा पखाला लाग्न सक्छ । 
मृगौलाको समस्या हुनेहरुमा  डाईलासिस गरिरहनु भएकोले खान हुन्छ, तर नगरेकाले खाँदा समस्या आउँन सक्छ । 
युरिक एसिड भएकाले पनि कम मात्रामा खान सकिन्छ । 

कस्ता व्यक्तिले बढी मात्रामा खानुपर्छ ?
गर्भवती महिला
सुत्केरी महिला 
मधुमेह भएका बिरामी

(शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत  डाइटिसियन नानी शोभा शाक्यसँग गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत ४, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया