वर्ष दिन बित्न लाग्दा पनि भेटिएनन् पत्रकार तेजु

 साउन ३०, २०७६ बिहिबार १२:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत उहाँको कुनै जानकारी छैन । विसं २०७५ साल भदौ महिनाको ९ गते बाजुराको बुढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उहाँ सम्पर्कविहीन हुनु भएको थियो । 

सम्पर्कविहीन हुनुभएदेखि नै उहाँको खोजी कार्य गरिए पनि अहिलेसम्म कुनै खबर पत्ता नलाग्दा उहाँका घर परिवार निकै चिन्तित बनेका छन् । समुद्रीसतहदेखि करिब १६ हजार फिट उचाइमा रहेको बुढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको रिपोर्टिङ्गका लागि पत्रकार खड्का भदौ ६ गते त्यसतर्फ जानु भएको थियो । 

बेपत्ता हुनु भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीन्दा लगातार खटिरहेका भए पनि अहिलेसम्म कुनै खबर नआएकोले परिवारमा पीडा बढेको छ । उहाँका दाजु तथा कांग्रेस नेता जितबहादुर खड्काले भन्नुभयो, ‘मेरो भाइ हराएको एक वर्ष हुन लाग्यो, अहिलेसम्म कसैले फेला पानी सकेनन् ।’

पत्रकार खड्काको खोजीका लागि नेपाल पत्रकार महासंघले विभिन्न टोली बनाएर खोजी गरे पनि केही पत्ता लाग्न सकेको छैन । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया