संघीय संरचनामा नेपाल विद्युत प्राधिकरण

 साउन ३०, २०७६ बिहिबार १४:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देश संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले देशभरका आफ्ना कार्यालय पनि समायोजन गरेको छ ।

प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ ।

७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन् । यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगंजलाई प्रदेश नम्बर तीन र पाँचको डिभिजन कार्यालयमा परिणत गरिएको प्राधिकरणले जनाएको छ ।

प्रदेश नम्बर १ को प्रदेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्रहरु रहेका छन् । यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर,ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्रहरु रहेका छन् । यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका वीरगञ्ज, सिमरा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नम्बर ३ काठमाण्डौ प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तर्गत क्रमश: २० र ६ वितरण केन्द्र राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ ।

गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर ५को बुटवल प्रादेशिक र नेपालगञ्ज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमश: ११ र १० वितरण केन्द्रहरु रहने छन् ।

कर्णालीको सुर्खेत र सदूर पश्चिमको अत्तरिया  प्रादेशिक कार्यालयअन्तर्गत क्रमशः १० र १२ वितरण केन्द्रहरु छन् । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया