मालपोत कार्यालय धनकुटाबाट अनलाइन जग्गाधनी पुर्जा वितरण

 साउन ३०, २०७६ बिहिबार १५:१४:१९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - मालपोत कार्यालय धनकुटाले अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ ।

कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झन्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले धनकुटाका एक सेवाग्रहीलाई डिजिटल मालपोत रजिष्ट्रेशन नम्बर प्रदान गरी अनलाइन सेवा आरम्भ गर्नुभएकाे हाे ।

भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजान सुरु गरेको छ । काठमाण्डौको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाइन प्रणाली हालसम्म १ सय ३१ मध्ये ७८ मालपोत कार्यालयमा सुरु भएको छ । गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँजी गरी फरक–फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृया मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको महानिर्देशक दवाडीले बताउनुभयाे ।

सेवाग्राहीलाई छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालन गरिएको मालपोत कार्यालय धनकुटाका प्रमुख जितमान जिमीले बताउनुभयाे । अनलाइन प्रणाली सुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले मोबाइल मार्फत नै विवरण लिन सक्नेछन् । अनलाइनका कारण कसैले जालझेल गरी अरुको जग्गा बिक्री वितरण गर्न लागेको अवस्थामा तुरुन्त जग्गावालाले जानकारी पाउने प्रमुख जिमीले जानकारी दिनुभयाे ।

अनलाइन प्रणालीमा जग्गा पास गरे पनि अफलाइन रेकर्ड पनि राख्ने गरिएको छ । अनलाइन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्था अनुसार नै तमसुकमा लेख्नै पर्छ । त्यसकारण यसलाई पूर्ण रुपमा अनलाइन भने मान्न नमिल्ने प्रमुख जिमीकाे तर्क छ। 

पूर्णरूपमा अनलाइन भएपछि भने तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) मा भने लेख्ने झञ्झट हुँदैन । तमसुकमा लेखेपछि त्यसैको आधारमा अनलाइन प्रणालीमा फारम दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाइनमा इन्ट्री गर्छन् ।

त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्नुपर्दछ । मालपोत अधिकृतपछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्नुपर्दछ । त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औँठाछाप पनि लिइन्छ । औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ । एकपटक अनलाइनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया