दुई रुपैयाँ, जुत्ता र फुटबल

 असार २७, २०७५ बुधबार ११:२४:१९ | भुपेन्द्र निराजन खनिया

जुटको सुतलीले बाँधेको प्लाष्टिकको पोको नै एडिडास ब्राण्डको फूटबल थियो । छेउ–छेउमा दुबो बाक्लै भए पनि बीचमा साइकल, विशेषगरी ट्रयाक्टर र बयलगाडाले खुइल्याएर माटो बगेर बाँकी रहेका ‘को आउला र ठोक्किम्ला’ भनेर कुरेका तीखा ढुङ्गैढुङ्गा भएको बाटो नै हाम्रा आधुनिक रसियाका भन्दा लोभ लाग्दा खेल चौर थिए । भलै साँच्चिकैको फुटबल किनेर स्कूलको चौरमा खेल्न नपाइने पनि होइन । तर, खै किन हो कठिनाई धेरै थिए ।

छरछिमेकका केटाकेटी नै त्यो बेलाका म्यारोडोना, रोनाल्डो, रिभाल्डो, जिदाने, निस्टोलरोए, बेकह्याम, थिएरी हेनरी, बाजियो, नेइमार, मेस्सी, रोनाल्डो, डिकोस्टा, एम्बापे आदि हुन्थे । उपलब्ध खेलाडीको संख्या र झोँक चलेको आधारमै टिम बन्थ्यो । हरेक दिन रियल मड्रिड र म्यानचेस्टर युनाइटेड  वा बेल्जियम र फ्रान्स बन्थे । फिफाको संरचना त बन्नै पाउँथेन । तर भएभरका खेलाडी रेफ्री हुन्थे र सिठ्ठीको सट्टा गाली फुक्थे ।

यो मैले बचपनमा धेरै देखेको र थोरै बटुलेको खेल अनुभव हो यो । त्यतिबेला हाम्रो पुस्तक तथा स्टेसनरी पसल थियो र फुटबल बेच्थ्यौँ । तर खेल्न रहरै हुन्थ्यो ।

प्रायः दसैँतिर या त सांस्कृतिक या खेलकुद या दुवै प्रतियोगीता हुन्थे । काठमाडौं वा अन्य सहरमा बसेर पढ्ने, जागिर खाने वा व्यवसाय गर्ने ‘दाइहरु’ ठूलै मान्छे गनिन्थे र तिनीहरु यस्ता प्रतियोगिता र खेलकुदमा सोझै भाग लिन पाउँथे । कस्तो खेल्थे वा प्रदर्शन गर्थे, अड्कल होस या नहोस, वा! वा! भन्दै ताली ठोक्ने धेरै हुन्थे । खेलका कतिपय प्राविधिक शब्द हामीलाई भन्दा तिनलाई आउँथ्यो र अंग्रेजी तिनले फरक तरीकाले उच्चारण गर्थे । म ठान्थेँ, मैले बोलेको ठिक छ । तर धेरै जसो तिनकै ठिक हुने रहेछ । जस्तो कि – मैले धेरै समयसम्म ‘प्लेन्टी’ भनेको खासमा ‘पेनाल्टी’ रहेछ ।

वार्ड–लिग प्रतियोगिता हुन्थ्यो । कहिलेकाहीँ जुनियरको पनि । कुनै–कुनै वार्डमा खेलाडी नै नपुग्ने । खेलाडी पाइए पनि प्रतियोगितामा भाग लिन टिमलाई लाग्ने इन्ट्री फी तिर्न खेलाडी आफै फँस्थ्यो । अनि तयार नहुने । खेलमा सिपालु छ भने पनि गोजीमा सुको छैन भने खेल्न पाउने ग्यारेन्टी हुन्थेन । कसै न कसैले दिनु पथ्र्यो । खेल अवधिभर खेलाडीले मध्यान्तरमा कागती र चिनी हालेको सर्बत पानी पिउन बाहेक केही पाउँथेनन् ।  तैपनि जित्ने टिमले ‘शिल्ड’ भन्दै एउटा पहेँलो रङ्गको ठडेउरो उचाल्थ्यो, अबीर दल्थे र हिप–हिप हुर्रे भन्दै चर्काचर्की गर्थे ।

मेरो घर वडा नम्बर ५ मा थियो । जुनियर लिग हुन लागेको, खेलाडी पुगेननन् । अर्को वडामा घर भएका तर ५ नम्बरमा जग्गा भएका १–२ जनालाई तानेछन् । यति गर्दा नि पुगेन । अन्तिमा यो सुनौला मौका मैले पाएँ । एउटाले आएर यो खबर सुनायो । मलाई थाहा थियो की यो अवसरका पछाडि दुइटा प्रमुख कारण थिए– (१) मसंग २ रुपैयाँ थियो जुन इन्ट्री फीबापत मेरो भागमा पर्ने जति तिर्न पुग्थ्यो । (२) मसँग कन्भर्ज जुत्ता थियो । मेरो खेलको खुबी त चौरमै देखिनेवाला थियो ।

मेरो नाम खेलाडीको लिस्टमा समावेश भयो ।

कुनै बेला मंगलबारे बजार दलदलेमा किनेको ‘डन्ट वाच मि’ लेखिएको आकासे निलो रङ्गको टिसर्ट र जाँघे लगाएर चुइकम (Chewing gum) चपाउँदै म गिराउन्ड (Ground) भित्र छिरेँ । म गोल्की (गोलकीपर) चाहिँ थिइनँ, तर अरु के थिएँ, मलाई कसैले केही भनेन । एकातिरबाट दौडन थालेँ ।  बल जता जता गयो त्यतै पुग्न खोजेँ । तर अथक प्रयास गर्दा पनि म बलको नजिकैसम्म समेत पुग्नै सकिनँ । विपक्षी टिममा प्राय सबै जनजातीका साथीहरु थिए।

म लिखुरे, मुस्किलले २५ किलोको ज्यान (जातीय जस लिन र दिन खोजेको चाहिँ होइन है) लगभग १० मिनेटपछि बल हिर्काउने मौका पाएँ । मेरो खेला (प्रदर्शन) देखेर कतिलाई भाउन्न भो कुन्नि, त्यो भन्दा बढी आफैलाई महसुस भो – तैँले खेल्न सक्दैनस्। एकछिनमा मलाई बाहिर बोलाए । मेरो जुत्ता मागे र एकजनाले एउटा खुट्टामा लगाएर अर्को हातमै बोकेर छिरे र अर्कोलाई दिए। यसरी मेरा जुत्ता हाप्टेम (हाफ टाइम) अघि एकै समयमा २ जनाले लगाएर खेले ।

मध्यान्तरपछि लुसुक्क आफ्ना जुत्ता टिपेँ, लगाएँ र घरतिर हिडेँ । मैले त सर्बत समेत खान पाइनँ ।

घटना – २०४२–४३ सालतिर
 स्थान – प्रगतिनगर, नवलपरासी
 

अन्तिम अपडेट: मंसिर २५, २०७५

भुपेन्द्र निराजन खनिया

खनियालाई http://bhupendranirajan.com.np मा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया