वरिष्ठ पत्रकार तथा साहित्यकार दीक्षितको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

 साउन ३०, २०७६ बिहिबार १७:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै दीक्षितको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाउनु पर्दा स्तब्ध भएको जनाएको छ । यसकासाथै नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्यसेवी गुमाएको पनि महासंघले जनाएको छ ।

१९७९ साल फागुन ६ गते काठमाण्डाैको गैरीधारामा जन्मनु भएका दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

दीक्षितले लामो समय समीक्षा साप्ताहिकलगायतका पत्रिका सम्पादन गर्नुभएको थियो ।  विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै नेपाल पत्रकार महासंघले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया