उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता नगर्ने

 साउन ३१, २०७६ शुक्रबार १२:१५:२७ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले दक्षिण कोरियाको कदमलाई पूर्ण दोषी मान्दै आगामी दिनमा उससँगको वार्तालाई अस्वीकार गरेको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले बिहीबार दिएको बयानपछि उत्तर कोरियाले भविष्यमा उससँग वार्ता गर्ने कुनै ठाउँ नै नरहेको बताएको हो । 

यसैबीच शुक्रबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटमा दुई ओटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सेनाले भनेका छन् ।

एक महिनाभन्दा कम समयको अवधिमा यो उत्तर कोरियाको छैटौँ क्षेप्यास्त्र परीक्षण हो । ६ दिन अघि मात्र उत्तर कोरियाले दुई ओटा छोटो दुरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रक्षेपण गरेको थियो । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको जुनमा भएको एक बैठकमा परमाणु सम्झौता वार्ता फेरि सुरु सहमति भएसँगै परीक्षणको श्रृङ्खला सुरु भएको हो । 

उत्तर कोरियाले परमाणु हतियार विकासमा जोड दिएपछि उसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको सामना गर्दै आइरहेको छ । 

दक्षिण कोरियाले के भनेको थियो ?

बिहीबारको भाषणमा दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले जापानी शासनबाट कोरिया मुक्त भएको इंगित गर्दै सन् २०४५ सम्म दुई कोरियाली प्रायद्वीप एक हुने बताएका थिए । 

दोस्रो विश्व युद्धको अन्त्यमा कोरिया दुई भागमा बाँडिएको थियो । 

उत्तर कोरियाले आधिकारिक सञ्चारमाध्यममा प्रसारित बयानमा भनेको छ, ‘अमेरिकासँगको सैन्य अभ्यासपछि दक्षिण कोरियाले अब पनि वार्ता सम्भव छ भनेर नसोचे हुन्छ ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया