‘मिशन मंगल’ बन्याे अक्षय कुमारकाे करियरकै सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म

 साउन ३१, २०७६ शुक्रबार १४:१९:५ | एजेन्सी
unn.prixa.net

अक्षय कुमार, विद्या बालनको फिल्म ‘मिशन मंगल’ १५ अगष्ट अर्थात भारतको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज भइसकेको छ ।

यस फिल्मको पहिलो दिनको कमाइ सार्वजनिक भएको छ, जसले पहिलो दिनमै २८.५० करोड कमाइ गर्दै अक्षय कुमारको करियरमा सबैभदा धेरै ओपनिङ कलेक्शन गर्ने फिल्म बनेको छ । फिल्मलाई समीक्षक तथा दर्शकको प्रशंसाका कारण फाइदा भइरहेको छ भने १५ अगष्टमा भारतको स्वतन्त्रता दिवस र फिल्मको कहानीमा पनि देशभक्ति भएका कारण फाइदा भएको छ ।

चर्चित भारतीय समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार गएको वर्ष भारतको स्वतन्त्रता दिवसकै अवसरमा रिलिज भएको अक्षय कुमारको फिल्म ‘गोल्ड’ ले पहिलो दिन २५.२५ करोड कमाएको थियो भने यस वर्ष उनको फिल्म ‘मिशन मंगल’ ले २८.५० करोड कमाउँदै करियरमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

फिल्ममा मिशन मंगल अर्थात मंगल ग्रहमा भारतको स्पेस मिशनको कहानी देखाइएको छ । जसमा इसरो अर्थात इण्डियन स्पेस रिसर्च अर्गनाइजेशनको मंगल ग्रहसम्मको यात्रालाई देखाइएको छ । यस फिल्ममा त्यस मिशनको सुरुवात कसरी भएको थियो र कसरी ठूलो संख्यामा महिला वैज्ञानिकसहितको  टिमको निर्माण गरिएको थियो भन्ने कुरालाई रोचक तरिकाले देखाइएको छ ।

फिल्ममा अक्षय कुमार, विद्या बालनका साथै सोनाक्षी सिन्हा, तापसी पन्नु, नित्या मेनन, कृति कुल्हारी, शरमन जोशीलगायतका कलाकारको महत्वपूर्ण भूमिका रहेको छ ।

जोन अब्राहम र अक्षय कुमारबीच टक्कर

अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सँगै अभिनेता जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ पनि रिलिज भएको छ ।  गएको वर्ष अगष्ट १५ मा पनि अक्षयको ‘गोल्ड’ र जोनको ‘सत्य मेव जयते’ एकसाथ रिलिज भएका थिए । फिल्म ‘सत्य मेव जयते’ ले पहिलो दिन २०.५२ करोड व्यापार गर्दै जोनको करियरमा ठूलो ओपनर फिल्म बनेको थियो ।

यस वर्ष जोनको फिल्म‘बाटला हाउस’ ले पहिलो दिन १४.५९ करोड कमाएको छ । यस फिल्मको कहानी सन् २००८ मा दिल्लीको बाटला हाउसमा आतंककारीमाथि भएको इन्काउन्टरमा आधारित छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया